
झापा,पुस-१५,माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको उपनिर्वाचनबाट सत्तारुढ दलको गठबन्धनलाई हराउँदै धेरै स्थानमा माओवादी केन्द्रले जितेर जनताको साथ प्राप्त गर्न सफल भएको उनले उल्लेख गरे।
उनलेे चुनावी परिणामले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको संकेत गरेको बताए । झापामा ‘तमु ल्होसार’को अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन।

उनलेे देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई साथ दिने विश्वास व्यक्त गरे।पार्टीमा नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रमा काम गर्न आउने नेपाली जनताको उत्साहपूर्ण साथ र सहयोग प्राप्त हुँदै आएको दाबी गरे।
देशमा प्राप्त भएका राजनीतिकलगायतका सबै उपलब्धि आफ्नो पार्टीकै नेतृत्वदायी भूमिकाबाट सम्भव भएकाले यसको रक्षा र देशलाई समृद्धितर्फ लैजान पनि माओवादी केन्द्रले नै फेरि पनि अगुवाइ गर्ने उनलेे दाबी गरे ।

नेपालको राजनीतिक इतिहासमा झापाले अगुवाइ गरिआएको चर्चा गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा देशमा विकास र समृद्धि ल्याउन फेरि आन्दोलन गर्नुपर्ने खाँचो देखिँदै गएकाले यसमा नेपाली जनताको साथ र सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

उनलेे राजनीतिक परिवर्तनले मात्र देश बलियो नहुने भएकाले अब आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त गर्न एकपटक आन्दोलन जरुरी भएको बताए।









