सर्लाही,पुस-११, सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष तथा कांग्रेस महासमिति सदस्य नन्दलाल महतोको मृत्यु भएको  छ ।
चितवनको भरतपुरमा कलेजो क्यान्सरकाे उपचार गराइरहेका ६९ वर्षीय महतोको उपचारका क्रममा गएराति  निधन भएको हो।


२०५४ सालमा तत्कालिन भवानीपुर गाउँ विकास समितिको अध्यक्ष रहेका महतो  त्यस यता दुई पटक २०७२ र २०७९ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
मृतक महतोको शव भरतपुरबाट अहिले बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -४ का सभापति रामआश्रय साहले जानकारी दिए ।
महतोकाे स्वास्थमा समस्या भएपछि उपचारको लागि भारतको दिल्ली लगिएको थियो ।  भारतबाट  घर फर्किएका महताेकाे स्वास्थ्यमा  फेरि  समस्या आएपछि  एक महिनाअघि भरतपुर पुर्‍याएर उपचार सुरु गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
गाउँपालिका अध्यक्ष राम सिंहासन रायका अनुसार वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले आज बिहीवार एक दिन गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ ।


कांग्रेस महासमिति सदस्य तथा वडाध्यक्ष नन्दलाल महतोको आज १ बजे बसबरिया गाउँपालिका स्थित बागमती नदीको मानपुर घाटमा दाहसंस्कार गरिएको नेपाली कांग्रेस सर्लाहीका उपसभापति डा. सराेज कुमार रायले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
मृतक महताेको  पार्थिव शरीरमा  नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति एवम् पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंह,जिल्ला समन्वय समिति सर्लाहीका सभापति काैशल किशोर सिंह,सर्लाहीका उपसभापति डाक्टर सराेज कुमारले पार्टीको चारतारे झण्डा ओडाएका थिए ।


कांग्रेस महासमिति सदस्य तथा वडाध्यक्ष नन्दलाल महतोको  निधनले पार्टीमा ठुलो क्षति पुगेको नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले बताएका छन् ।
उनको शाेक वक्तव्यमा  महासमिति सदस्य महताेकाे निधनले आफुलाई मर्माहित तुल्याएको उल्लेख छ । महताेले पार्टी र समाजमा पुर्‍याएकाे योगदान सधैं सम्झिन लायक रहेको सभापति सिंहद्वार जारी वक्तव्यमा भनिएको छ ।