
कृष्ण थपलिया
सर्लाही,मंसिर -१६,मधेस प्रदेश सरकारका गृह कानुन तथा सञ्चारमन्त्री राजकुमार लेखीले सञ्चारकर्मी र सञ्चार क्षेत्रकाे समस्याकाे विषयमा आफु अवगत रहेको बताउदै, सञ्चारकर्मीकाे अपेक्षा अनुसारको कार्य गर्न आफू अग्रसर रहेको बताएका छन् ।

मन्त्री लेखीले सञ्चारकर्मीकाे बीमा,सुरक्षा तथा लाेककल्याणकारी विज्ञापन, निगरानी ,प्रशिक्षण अध्ययन अवलोकन भ्रमण,पत्रकारितामा उच्च शिक्षा अध्ययनका सन्दर्भमा आफू गम्भीर र सकारात्मक रहेको बताए ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशले सर्लाहीको लालबन्दीमा आयोजना गरेको प्रदेशका पत्रकारहरूकाे स्वास्थ्य तथा दुर्घटना बीमा कार्यान्वयन तथा पत्रकारिता अध्ययन छात्रवृत्ति र प्राेत्साहन मसाैदा माथिकाे छलफल कार्यक्रममा बाेल्दै मन्त्री लेखीले यस्तो बताएका हुन ।

प्राधिकरणले आज (आईतवार) जिल्लाकाे लालबन्दीमा मधेस प्रदेशका पत्रकार र संञ्चार सम्बद्ध संग संगठनका प्रतिनिधिहरू संग छलफल गरेको थियो ।
कार्यक्रममा मन्त्री लेखीले राजनीतिक अस्थिरताका कारण आफुले चाहेर पनि सञ्चार क्षेत्रका लागि काम गर्न नसकेको बताए । उनलेे बजेट अभाव मुख्य बिषय रहेको बताउदै प्रदेश सरकारलाई घचघच्यान,मुख्यमन्त्री संग छलफल गरेर बजेट व्यवस्थाका लागि कुरा गर्न सञ्चार सम्बद्ध संग संगठन तथा सञ्चारकर्मीसंग आग्रह गरे ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा प्राधिकरणका सदस्य अम्रेन्द्र कुमार यादवले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागी पत्रकार र संञ्चार सम्बद्ध संग संगठनका प्रतिनिधिहरूले स्वास्थ्य तथा दुर्घटना बीमा कार्यान्वयन तथा पत्रकारिता अध्ययन छात्रवृत्ति र प्राेत्साहन मसाैदाका विषयमा सुझावहरू दिएका थिए ।









