लालबन्दी,चैत १८ – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जमा रहेको एभरेष्ट सामुदायिक वनमा वुधवार साँझ अचानक लागेको डढेलो नियन्त्रणमा आएको छ ।
जिल्लाका प्रमुहरुको समेत उपस्थितिमा वनमा लागेको डढेलो निभाइएको हो । क्रसर उद्योगहरुको अनुगमन गर्दै हिँडेको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी नेतृत्वको टोली समेत खटिएर डढेलो निभाएको हो ।
जिसस प्रमुख चौधरीसँगै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, डिभिजन वन प्रमुख माधवप्रसाद देव, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, सशस्त्र प्रहरी बल हरिवन बेस क्याम्पका सशस्त्र प्रहरी नायब उपरीक्षक जगन्नाथ खड्का, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक निर्मल थापासहितको टोली डढेलो निभाउन खटिएको थियो ।

हरिवन नगरपालिकाको दमकल, सुरक्षाकर्मी ,वनका कर्मचारीहरु र समुदायिक वनका पदाधिकारीसमेत खटिएर डढेलो निभाइएको डिभिजन वन प्रमुख देवले जानकारी दिए । वुधवार साँझ ७ बजेतिर सुरु भएको डढेलो झण्डै एक घण्टापछि नियन्त्रणमा लिएर जिल्ला प्रमुखहरुको टोली राती ८ बजेतिर रानिगन्जबाट फर्किएको छ ।
आफूहरु क्रसरको अनुगमनमा हिँडेपनि वनमा भीषण डढेलो लागेको देखेपछि, सबैजना त्यहीँ उत्रिएर डढेलो निभाउन लागिपरेको प्रमुख जिल्ला अधिकारी तामाङले घटनास्थलमा पुगेका चियोचर्चो खबरकर्मीसँग बताए ।
डिभिजन वन प्रमुख देवका अनुसार वनका कर्मचारीहरुको टोलीले वुधवार नै जिल्लाको जानकीनगर क्षेत्रका दुई स्थानमा लागेको डढेलो समेत निभाएको छ । उनले वनका कर्मचारीले आफूहरुसँग भएको सीमित स्रोत साधनको प्रयोग गरी जिल्लाका वन क्षेत्रमा लागिरहेको डढेलो निभाउने काम गरिरहेको बताए ।
स्थानीय वासिन्दाले नै जथाभावी डढेलो लगाइदिँदा नियन्त्रणमा चूनौति भइरहेको उनले गुनासो गरेका छन् ।







