सर्लाही,मंसिर-६, जिल्लाकाे लालबन्दी नगरपालिकाको टोलिले सुनकोसी–मरिण डाइभर्सन आयोजना अन्तर्गत प्रस्तावित पुरक योजनाको रूपमा लिइएको मरिन–लखनदेही डाइभर्सन योजनाको स्थलगत अवलोकन गरेको छ ।
लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारीको नेतृत्वमा पूर्व खानेपानी मन्त्री संघीय सांसद महीन्द्र राय यादव, संविधानसभा सदस्य एवम् पूर्वराज्यमन्त्री शम्भुलाल श्रेष्ठ, विद्युत र नापी विज्ञसहितको  टोलीले बुधवार  स्थलगत अवलोकन गरेको हो।

टोलीले मुख्य विकल्पको रूपमा लिइएको मरिन–खयरसाल–डाइनी ड्रप स्थलको अवलोकन गरेको थियो। लालबन्दी नगरपालिका कार्यालयबाट बुधवार  विहान ८ बजे निस्केको टोली लखनदेही खोला हुँदै डाईनी खोलाको शिरसम्म पुगेको थियो । त्यसपछि फर्किको टोली साँझ खयरसाल पुगेको थियो ।


प्रस्तावित योजना अनुसार कुसुमटारबाट निकासा हुने पानी पाईपलाईन मार्फत खयरसालसम्म ल्याई त्यहाँ ४५ मेगावाट विद्युत उत्पादन गरी बाहिरीएको पानी झण्डै ७ किलोमिटर सुरुङ्ग मार्फत डाईनी हुँदै लखनदेहीमा पथान्तरण गरिने विद्युत विज्ञ चेत प्रसाद बरालले बताए ।
उनका अनुसार त्यसरी ल्याईएको पानीबाट लालबन्दी १३ स्थित छेडामा पुनः झण्डै १५ मेगावाट विद्युत उत्पादन गरी निकासा भएको पानीले बागमती सिँचाई आयोजना पूर्वका हरिवन, लालबन्दी, ईश्वरपुर, महोत्तरीको बर्दिवास, धनुषाको मिथिला समेतका गरी झण्डै -६० हजारभन्दा बढी हेक्टर जमिनमा सिँचाई सुविधा पुर्‍याउन  सकिन्छ ।


त्यस्तै चुरे दक्षिणका वस्तीहरुमा शुद्ध खानेपानी विस्तार गर्न सकिन्छ । छेडामा निर्माण हुने जलायशबाट चुरे क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ । यसरी यो प्रस्तावित योजना सफल हुँदा यहाँका सुख्खाग्रस्त जमिन हराभरा हुनेछन् । साथै मधेश प्रदेश र बागमती प्रदेशले समेत ठुलो आर्थिक लाभ लिन सक्नेछ ।


तिब्र गतिमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन र बागमती सिँचाई आयोजनाले सुविधा पुर्‍याउन नसक्ने सर्लाही, महोत्तरी र धनुषाका उत्तरी चुरे क्षेत्र आसपासका जमिनमा सिँचाई सुविधा पुर्‍याइ, खानेपानीको सुविधा दिने र विद्युत समेत उत्पादन गर्ने महत्वकांक्षी उदेश्यका साथ मरिणलाई डाइभर्सन गरी लखनदेही खोलामा मिसाउने गरी यसअघि नै लालबन्दी नगरपालिकाको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया पाएपछि उत्साहित भएको टोलीले त्यसको नक्सान गरी सोही नक्सा बमोजिम डाईसर्भन रुटको स्थलगत अवलोकन गरेको हो ।


अवलोकन टोलीमा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिन, वडा नम्बर १४ का वडाअध्यक्ष छेनामसिंह घिसिङ्ग, नेपाल विद्युत प्राधिकरणका अवकाश प्राप्त ईन्जिनियर चेतप्रसाद बराल, नापी विज्ञ बलराम पोखरेल, नेपाली काँग्रेसका नेता सिताराम दाहाल, जनज्योती बहुमुखि क्याम्पस व्यवस्थान समितिका अध्यक्ष दिपक अधिकारी, काँग्रेस नेता सुरेन्द्र न्यौपाने, कुवेर आचार्य, योजना कार्यान्वय समितिका सदस्य भरतमणि आचार्य, नेपाल वुद्धिजीवी परिषदका सल्लाहकार राजन तिमल्सिना, लालबन्दी नगरपालिकाका लेखापाल नेत्र पाख्रिन, ईन्जिनियर रोशन पण्डित, नगर अस्पताल लालबन्दीका मेसु डा.चन्दन चौधरी, विपद व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र खतिवडालगायत सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।