राजु तामाङ/ सर्लाही
कात्तिक -१४,जिल्लाको हरिपुरमा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।
सानो जगतपुरको खेल मैदानमा बुधवार सम्पन्न फाइनलमा रोमन एफसी हरिवनलाई ३-१ ले पराजित गर्दै, आयोजक नव संघर्ष शिल युवा क्लबले उपाधि चुमेको हो । रोमन एफसी हरिवन उपविजेता बने छ ।
आयोजकका लागि खेलको सुरुवाती दुई मिनेटमा र १२ औं मिनेटमा गरी मोहित गुरुङले दुई गोल गरे । रोमन एफसीका लागि भने २५ औं मिनेटमा आयोजकका गोल किपर र खेलाडी बीच केही तालमेल नमिल्दा आफ्नै खेलाडीले हानेको बल आत्माघाती गोल हुन पुग्यो ।
पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेको खेलमा आयोजकले अग्रता लिएको थियो । दोस्रो हाफमा रोमन एफसीले झनै सुधारिएको खेल प्रस्तुत गर्दै लयमा फर्किने संकेत गर्याे,निकै राम्रा राम्रा अवसर सिर्जना गर्दै आक्रमक खेल्याे ।


खेलको निर्धारित समय सकियपछि थप गरिएको अतिरिक्त ३ मिनेट समय कम भएको भन्दै रोमनका टिम कोच मैदान भित्र प्रवेश गरेपछि खेलमा केहीबेर तनाव सृजना भएको थियो ।
केहीबेरको तनावपछि खेल पुनः सुचारु भयो खेल सुचारु भए लगत्तै आयोजकका विश्व लामाले थप गोल गर्दै टिमलाई जिताए। फाइनल खेलको हिरो अफ द म्याच आयोजकका मोहित गुरुङ घोषित भए ।


प्रतियोगितामा विजेता हुँदै आयोजकले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे, उपविजेता रोमन एफसीले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।
हरिपुर नगरपालिका वडा नम्बर दुईको प्रायोजन र नव संघर्ष शिल युवा क्लबले आयोजना गरिएको प्रतियोगिता कात्तिक ३ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा आयोजक दुई टिम गरी १४ टिमले सहभागीता जनाएको थियो । फाइनल अघि आयोजक भेट्रान्स र हरिपुर नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि भेट्रान्स बीच मैत्रीपूर्ण खेल सञ्चालन भएको थियो जसमा आयोजक भेट्रान्सलाई नगरपालिका भेट्रान्सले १-० ले पराजित गरेको थियाे ।


प्रतियोगिताको समापन कार्यक्रममा प्रदेश सभा सदस्य पुर्व मन्त्री बेची लङ्गेलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पंजियार, हरिपुर इलाका प्रहरी कार्यालयका प्रमुख रोमनराज अर्याल, वडा नम्बर दुईका वडा अध्यक्ष निल विक्रम थापा नगरपालिकाका कर्मचारी जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।