राजु तामाङ/ सर्लाही
कार्तिक-७,चेतना सन्देश नेपाललाई हराउँदै जन जागृति युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
जिल्लाको हरिपुरमा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको बुधवार भएको पहिलो क्वाटरफाइनलमा जनजागृतिले चेतना सन्देशलाई २-० गोलले पराजित गर्दै समूह ´बी` बाट सेमिफाइनलको यात्रा तय गरेको हो ।
दुबै टिमले पहिलो हाफ गोल रहित बराबरीमा खेले । दोस्रो हाफमा चेतना सन्देशले राम्रो अवसरहरु प्राप्त गरे पनि बारम्बार जागृतिका गोल किपर बाधक बन्दा गोल गर्न सकेनन कडा प्रतिस्पर्धा रहेको खेलमा चेतना सन्देशले दोस्रो हाफपछि केही रणनीतिक खेल खेलेका थिए ।


जागृतिको जितमा खेलको दोस्रो हाफको अन्तिम २५ औं मिनेटमा रोहित विश्वकर्माले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए।
थप गरिएको ३ मिनेटको अतिरिक्त समयमा रोहितले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । खेलको हिरो अफ द म्याच जागृतिका रोहित विश्वकर्मा घोषित हुँदै नगद पाँच सय रुपैया प्राप्त गरे ।


हरिपुर नगरपालिका वडा नम्बर २ को प्रायोजन तथा नव संघर्ष शिल युवा क्लबको आयोजनामा कार्तिक ३ गतेबाट सुरु भएको प्रतियोगितामा आयोजक दुई टिम गरी १४ टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद पुरस्कार २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
भोलिको दोस्रो क्वाटरफाइनल खेल आयोजक पहेलो र अल्टोकि युवा क्लब रौतहट बीच हुनेछ । प्रतियोगिताको फाइनल खेल कार्तिक १४ गते हुनेछ ।