
काठमाडौं,असाेज – २६, विजयादशमीको मुख्य दिन,आज बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने साइत छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार साइतमा लगाउन नभ्याउनेहरुले आज दिनभर नै टीका लगाउन मिल्ने छ ।
टीका लगाई माग्ने पूर्व फर्किन उत्तम हुने ढुङ्गेलले जानकारी दिए। उनका अनुसार आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सक्नेछन् ।
असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।
घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ ।

आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बुवा , आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गरिन्छ ।
विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत निकालेको छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।
त्रेता युगमा आजैका दिन भगवान् रामले आसुरीशक्ति रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरू गरिएको धार्मिक विश्वास छ ।

यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ। १५ दिन लामो विजयादशमी पर्व असाेज ३० गते कोजाग्रत पूर्णिमाकाे दिन समापन हुनेछ ।









