सर्लाही,असाेज-२०, बाढीले बगाएर मृत्यु भएका जिल्लाकाे बलरा नगरपालिका का दुई परिवारकाे खातामा राहत रकम जम्मा भएको छ ।
असोज १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु भएका व्यक्तिको परिवारलाई जनही दुई लाख रुपियाँ राहत दिने निर्णय गरे अनुसार सर्लाहीका दुई मृतका परिवारकाे खातामा दुई -दुई लाखका दरले राहत रकम जम्मा भएको हाे ।


जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवम् प्रजिअ गोपालकुमार अधिकारी, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहलगायत आइतवार बिहान बलरा नगरपालिका–१, हथियौलका २७ वर्षीय मृतक पवन गिरी र नगरकै वडामा नम्बर –३, लक्ष्मीपुरका १३ वर्षीय मृतक अंकित ठाकुरकाे परिवारलाई भेट्न उनीहरूकाे घरमै पुगेका थिए ।


मृतकको घरमै पुगेको टाेलीले राहत रकम बैंकमा जम्मा भएको जानकारी गराउदै, समवेदना पत्र प्रदान गरेका थिए । अंकित र पवन असोज १४ – १५ गते बागमतीकाे बाढी पसेर जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेका थिए । 
असोज १० देखि १२ गतेसम्म परेको अविरलवर्षा पछि बागमती नदी मा आएको बाढीले बाँध फुटाएर पछि बलरा नगर पालिकाका गाउँहरू डुबानमा परेको थियो ।


बाढीले बगाएर मृत्यु भएका बागमती नगरपालिका–९, सक्रौल टोलका १४ वर्षीय मुकेश महतोको परिवारलाई पनि राहत स्वरुप दुई लाख रुपियाँ प्रदान गरिने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएकाे छ ।

महतोको परिवारसँग आवश्यक कागजात लिएर प्रक्रिया पूरा गरी राहत रकम जम्मा गरिने प्रजिअ अधिकारीले जानकारी दिए ।
प्रजिअ अधिकारीसहितको टोलीले आजै बलरामा र धनकौलमा भइरहेको राहत वितरण कार्यको पनि अनुगमन गरेका छन् ।