सर्लाही,असाेज -१९, जिल्लाका उखु किसानले अनुदान बापतकाे रकम प्राप्त गरेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका अनुसार  जिल्लाका उखु  किसानले पाउन बाकी  अनुदान बापतकाे रकम २९ करोड ७१ लाख सात हजार ८०३ रुपियाँ खातामा पठाइएको हाे ।


सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि उखुको समर्थन मुल्य प्रतिक्वीन्टल ६३५ रुपैयाँ निर्धारण गरेको थियोे ।उद्योगीले किसानसँग प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँमा उखु खरिद गर्नुपर्ने र सरकारले ७० रुपैया थप अनुदान दिनुपर्ने गरि उखुको मुल्य निर्धारण गरिएको थियोे ।
उद्योगीले उखु खरिद बापतको ५६५ रुपैयाँ भुक्तानी गरिसक्दा पनि सरकारले दिनुपर्ने ७० रुपैया अनुदानको रकम १० महिना बितिसक्दापनि किसानले पाउन सकेका थिएनन् ।


मुख्य चाडपर्व संघारमा अनुदान बापतकाे रकम खातामा जम्मा भएको म्यासेज माेवाइलमा आउदा निकै खुसी लागेको लालबन्दी – ५, रन्जितपुरका  किसान  सुशील थपलियाले चियाेचर्चाे खबरसंग बताए ।


सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईं गुरागाईंका अनुसार   महालक्ष्मी चिनी उद्योग बगदहमा उखु बिक्री गर्ने केही  किसान बाहेक  सवै किसानको बैंक खातामा रकम जम्मा भइसकेको छ। उनका अनुसार पैसा पाउन बाकी  किसानकाे बैंक खाता प्राप्त भएपछि अनुदान बापतकाे  रकम पठाइने छ ।