सर्लाही,असाेज- १७, सर्लाही प्रहरीले  जिल्लाका विभिन्न स्थानमा बिहिवार (आज) बाट यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
सदरमुकाम मलंगवा वार्ड नं-९ स्थित पुरानो बस पार्कमा बिहिवार एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले  यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन ।


उद्घाटन कार्यक्रममा बाेल्दै, प्रजिअ  अधिकारीले  बाढी पहिरोका कारण  नागरिक दु :ख भेग्नु परेको बताउदै, घरबार बिहिन भएका नागरिकको सहायतामा जुटन आग्रह गरे । चाडपर्वको मौकाछोपी यातायात व्यवसायीले बढी  नाफा कमाउने लोभमा यात्रुहरुबाट डबल भाडा उठाउने गरेको पाइएकाले त्यस्तो नगर्न व्यवसायीलाई आग्रह गरे ।


प्रजिअ अधिकारीले क्षमता भन्दा बढि यात्रु बोकेर सवारी साधन चलाउदा दुर्घटनाको जोखिम हुने भएकोले यस्ता कार्य  नगर्न आग्रह गरे । नागरिकको सुविधालाई मध्ये नजर गर्दै  यात्रु सहायता कक्ष स्थापना गरिएको प्रजिअ अधिकारीले बताए  ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश काेषाध्यक्ष विश्वनाथ ठाकुर लगायत मन्तव्य राखेका थिए ।
प्रहरीले  सदरमुकाम मलंगवा, लालबन्दी,बयलबास, फुलजोर, नवलपुर, कर्मैया र बरहथवामा सहायता कक्ष स्थापना गरेको प्रहरी उपरिक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिए।


कार्यक्रममा प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठ, मलंगवा यातायात प्रा.लि. का अध्यक्ष दिपलाल महताे, यातायात व्यवसायी तथा स्थानीयकाे सहभागिता रहेको थियो ।