
सर्लाही,असाेज-१४,जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीकाे बैठकले अविरल बर्षाका कारण जिल्लाका विभिन्न भागमा भएको धनजनको क्षती एवम् बाढी प्रभावितहरुको उद्धार तथा राहत सम्बन्धमा भैरहेको कार्यहरु एवम् अव गर्नु पर्ने कार्यहरु बारेमा छलफल गरि विभिन्न निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा सम्बन्धित जिल्ला सुरक्षा समितका पदाधिकारी तथा स्थानीय तहका प्रमुख/प्रतिनिधिहरुकाे उपस्थितिमा साेमवार (आज) जिल्ला प्रशासन कार्यालयमा बसेकाे सराेकारवाल निकायसंगकाे बैठकले विभिन्न निर्णय गरेको हाे।
यस्ता छन् समितिकाे निर्णयहरू:


बैठकले बाढि तथा डुवानमा परी सर्लाहीमा १ जनाको मृत्यु भएको तथा २ जना हराईरहेको प्रारम्भिक तथ्याङ्क रहेकाे उल्लेख गर्दै,मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएकाहरु सकुशल फेला पर्ने अपेक्षा गरि घाइतेहरुको स्वास्थ्यलाभ काे कामना गरेको छ।

जिल्लाका बाढि तथा डुवान प्रभावितहरुलाई पिउने पानी तथा अन्य खाद्य तथा खाद्य सामग्रीको तत्काल आवश्यक्ता भएकोले सम्बन्धित स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय मार्फत संकलन भएको प्रभावितहरुको संख्याको आधारमा प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आवश्यक राहतप्रबन्ध गर्ने निर्णय गरेको छ ।
बैंककले सर्लाही जिल्लामा कार्यक्षेत्र भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्था एवम् निजीक्षेत्र समेतलाई राहत सामग्री (खाद्य तथा गैर खाद्य) सामग्री उपलब्ध गराउन आह्वान गर्ने राहत बितरण गर्न चाहने संघसंस्था/निकाय/ब्यक्तिले जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिई स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणाली अनुसार राहत बितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन जिल्ला स्वास्थ्य कार्यालयको संयोजकत्वमा निजी क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई समेत सहभागी गराई आवश्यक औषधी सहितको स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा खटाउने बैठकले निर्णय गरेको छ ।
बैंककले प्रभावित क्षेत्रका बासीन्दाहरुलाई शुद्ध खानेपानीको अभाव हुन नदिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र भूमिगत जलस्रोत कार्यालयले स्थानीय तह तथा गैरसरकारी संघसंस्थाहरुसँग समन्वय गरी शुद्ध खानेपानीको आपूर्ति सुनिश्चित गर्ने र सो को प्रतिवेदन तीन दिन भित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय गरेको छ ।
त्यस्तै सम्बन्धित स्थानीय तहले आफ्ना बिषयगत शाखाको संयोजनमा स्थानीय प्रहरी इकाई, रेडक्रस समेतको सहयोगमा बाढि तथा डुबानबाट मानवीय, भौतिक सम्पत्ति तथा कृषिबाली, पशुपंक्षी लगायतमा भएको क्षतिको प्रारम्भिक बिवरण ३ दिन भित्र तथा बिस्तृत यथार्थ बिवरण ७ दिनभित्र उपलब्ध गराउने ।

बागमती लालबकैया नदी नियन्त्रण कार्यालय, पूर्वाधार बिकास कार्यालय, डिभिजन सडक कार्यालय,डिभिजन छिटक जनताको तटबन्ध, बागमती, , खानेपानी तथा सरसफाई कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुले क्षेत्रमा भएको क्षतीको यथार्थ विवरण ७ दिनभित्र उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।
केही दिन परेको निरन्तरको वर्षा पछि बागमती नदीमा आएको बाढी बाँध नाघेर जिल्लाकाे बसबरिया गाउँपालिकाकाे बस्तीमा पसेको थियो । अविरल वर्षका कारण बागमती,कालिन्जाेर, फूल्जाेर,झिमनदीमा आएको बाढीका कारण ठुलो मानवीय क्षति नभएपनि जिल्लाकाे दक्षिणी क्षेत्रका बस्ती ढुवानमा परेका छन्। ढुवानका कारण किसानले लगाएका अन्न ,तरकारी उखुलगायतका बालीनालीमा ठुलो क्षति पुगेको छ ।









