सर्लाही, भदौ-३,जिल्लाको चन्द्रनगर गाउँपालिकामा पनि संविधान दिवस २०८१ विशेष कार्यक्रमसहित हर्ष उल्लासपूर्वक मनाइएको छ।
गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीहरूले सार्वजनिक स्थलको सरसफाइ गरेका थिए ।
कार्यक्रमका सहभागीले चन्द्रनगर गाउँपालिका अगाडिको सडक, नाढिमन ताल क्षेत्र र शिव मन्दिरको आसपास सरसफाइ गरेका थिए।
सरसफाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गितादेवी महतो, प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल, वडा नं १ देखि ७ वटै वडाका अन्य जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले संविधान दिवसको अवसरमा बोल्दै नेपालको संविधानले देशको कानूनी संरचना, जनताको अधिकार र कर्तव्यलाई परिभाषित गरेको उल्लेख गरे।
उनले संविधान दिवसजस्तो महत्त्वपूर्ण दिनलाई सम्झनका लागि सामुदायिक गतिविधिहरू, विशेष गरी सरसफाइ अभियान, निकै सान्दर्भिक भएको बताए।
अध्यक्ष महतोले यस्ता कार्यक्रमहरूले स्थानीय जनताबीच एकता, जागरूकता र जिम्मेवारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उपाध्यक्ष गितादेवी महतोले संविधानले सबै नेपाली नागरिकलाई समानता, स्वतन्त्रता, र न्यायको अधिकार सुनिश्चित गरेको बताउँदै संविधान दिवसको महत्वलाई जनसमक्ष फैलाउन आवश्यक रहेको धारणा राखिन्।