
सर्लाही,भदौ -१४,नेकपा एमाले सर्लाहीले आफ्नो एक कार्यकर्ताको ज्यान गएको घट्ना छानविनको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईविको टोली माग गरेको छ ।
कविलासी नगरपालिका वार्ड नम्वर ४ का पुर्व वडा अध्यक्ष अरविन्द रायको ज्यान गएको सम्वन्धमा अनुसन्धान गर्न यस्तो माग गरिएको एमाले नेता चूडामणि वाग्लेले जानकारी दिए ।

उनका अनुसार एमाले जिल्ला कमिटी सदस्य समेत रहेका रायको गत भदौ ७ गते साँझ वरहथवा नगरपालिका वार्ड नम्वर १० किसनपुर चौकमा एक विवादास्पद मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो ।
आज ९शुक्रवार ० नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सर्लाही इन्चार्ज हरि उप्रेतीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई माग पत्र वुझाएको हो । पुर्व रक्षा मन्त्री समेत रहेका प्रतिनिधि सभाका सदस्य हरि उप्रेतीको हस्ताक्षर रहेको पत्रमा घटनालाई स्वभाविक दुर्घटना मान्न नसकिने भएकोले विशेष अनुसन्धान गर्न माग गरिएको छ ।

टोलीमा पार्टी केन्द्रीय सदस्य एवम् वरहथवा की नगर प्रमुख कल्पना कटुवाल, पूर्ब मन्त्री खोवारी राय, पार्टी नेता शेष मेहवुव रेजा, पार्वती विश्वकर्मा, अशोक कार्की, प्रल्हाद वुढाथोकी लगायत सहभागी थिए ।
पत्रमा हालसम्म भएको अनुसन्धानको लागि स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय वरहथवालाई धन्यवाद दिइएको छ ।

एमाले नेता चूडामणि वाग्लेले दुर्घटना भनिए पनि उक्त घटनाको प्रकृति अपराधजन्य देखिएकोले पार्टीले गम्भिर छानविन गर्न माग गरेको वताए ।
एमालेको पत्र वुझ्दै प्रजिअ अधिकारीले घटनाको अनुसन्धान सुक्ष्म ढंगले भईरहेको जानकारी दिए ।









