सर्लाही,चैत -६ जिल्ला प्रहरीले २ जना भारतीय डाँकाहरुलाई अमेरिकन पेस्तोल र सोको ६ राउण्ड गोलि सहित पक्राउ गरेको छ।
विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय  बरहथवाबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले गएराति पाैने ९  बजेको समयमा  जिल्लाकाे बरहथवा नगरपालिका वडा नं. ६ मगर टोलबाट  उनीहरूलाई पक्राउ गरेको हाे ।
खोज तलास गर्दै जाँदा प्रहरीले भारत बिहार प्रदेश जिल्ला सितामढी थाना सैयारा ग्राम सैयारा बस्ने अन्दाजी  २८ वर्षीय  सन्नी कुमार सिंह र  मोतिहारी गंगापिपरा बस्ने अन्दाजी २४ वर्षीय  जितेन्द्र कुमार राउत बसेकाे डेरामा शंका लागि चेक जाँच गर्दा जितेन्द्र कुमार राउतले आफ्नो साथमा रहेको पेस्तोलबाट गोली चलाएका थिए ।
उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।


उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरी प्रवक्ता  प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुका अनुसार उनीहरूलाई  पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मलंगवा लैजाने क्रममा बसबरिया गाउँपालिका  ६ पोखरीयाबाट अन्दाजी  ७०० मिटर अगाडी मलंगवा तर्फको बाटोमा गाडीबाट भाग्न थालेका  जितेन्द्र कुमार राउतलाई नियन्त्रणमा लिन  प्रहरीले गाेली चलाउनु परेको थियो ।


बाँया घुडा, दाहिने तिघ्रामा २ राउण्ड गोली लागि घाइते भएका राउतको प्रादेशिक अस्पताल मलंगवामा उपचार भई रहेकोमा अस्पतालले थप उपचारको लागि जनकपुर रेफर गरेकाे छ । घाइते राउतकाे अवस्था  मध्यम रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भारतमा उनीहरु हत्या, डाँका लगायत अपराध कर्ममा संलग्न अपराधी हुन ।