
सर्लाही,पुस-२४,प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिकाे माग गर्दै भएको आन्दोलनको क्रममा स्थानीय युवा जयशंकर साहको गोली लागि मृत्यु भएको विषयमा छानबिन गर्न गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई नेपाली कांग्रेस बरहथवा नगर सभापति उपेन्द्र महतोले विस्तृत विवरण र प्रमाणहरू उपलब्ध गराउनुभएकाे छ ।
सभापति महताेले छानबिन समिति संयोजक थानेश्वर गौतमलाई आन्दोलरत पक्षकाे तर्फबाट विस्तृत विवरण उपलब्ध गराउनुहुदै निष्पक्ष छानबिन गरिन दाेषीलाई कार्वाही गरि पीडित परिवारलाई न्याय दिलाइदिन माग गर्नुभएको नेपाली कंग्रेस बरहथवाले जनाएको छ ।

बरहथवा घटनाका विषयमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले मंगलवार आजैदेखि देखि घटनास्थलमै पुगेर छानबिन कार्य सुरु गरेका छन् ।
गृह मन्त्रालयको सह सचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समतिका सदस्यहरू पूर्व प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भिमबहादुर बुढाथोकीले स्थलगत रुपमा अनुसन्धान कार्य प्रारम्भ गर्नुभएको हाे ।
छानबिन गर्न गठित टोलीले बरहथवा घटनामा गोली लागि मृत्यु भएका युवा जयशंकर साहको परिवार संग भेटघाट गरेको छ । समितिले तत्कालीन आन्दाेलनरत पक्ष नेपाली कांग्रेससहितका पाँच राजनीतिक दल संग बुझ्ने कार्य गरेको छ । टाेलीले घटनास्थल प्रत्यक्षदर्शीहरु संग पनि भेटघाट गरेको छ ।
छानविन समितिका संयोजक गौतमले आफूले निष्पक्ष रुपमा छानविन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शान्ति सुव्यवस्था कायम राख्न स्थानीय स्थानीयवासी राजनीतिक दल र पीडित परिवार संग आग्रह गर्नुभयो ।

संयाेजक गाैतमले आफूहरू छानविन गर्न आएकाले कसैको पक्ष विपक्षमा काम नगर्ने बताउनुभयो । उहाँले यहाँ भएका घटनाहरुलाई नबंग्याई सटिक रुपमा जे भएको हाे, त्यही राखेर छानबिन कार्यलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले यथार्थ बस्तुस्थितिलाई समेटेर प्रतिवेदन तयार पारी निर्धारित समय सिमा भित्र गृह मन्त्रालयमा बुझाउने बताउनुभयो।

अस्पताल स्तरोन्नतीकाे माग गर्दै भएको प्रदर्शनकाे क्रममा शुक्रवार प्रहरीले चलाएको गाेली लागी बरहथावा नगरपालिका वडा नम्वर- ६ का ३० बर्षिय युवक जयशंकर साहको मृत्यु भएको थियो ।
आईतवार साँझ स्थानीय प्रशासन पीडित पक्ष, सरोकारवाला बीच सहमती भएपछि आन्दोलनका सवै कार्यक्रम स्थगित भएको थियो । अहिले बरहथवाकाे अवस्था सामान्य बन्दै गरेको छ।









