सर्लाही,पुस -१५, माघमा हुने महिला साप च्याम्पियनसिपका लागि देशभरबाट धमाधम महिला खेलाडीहरु छनौट भइरहेको छ । च्याम्पियनसिपका लागि जिल्ला तथा प्रदेशस्तरमा खेलाडीहरु छनौट गर्ने काम तीब्र रुपमा भइरहेको हो ।
जिल्ला फुटबल संघ सर्लाहीले पनि च्याम्पियनसिपका लागि पहिलो चरणको खेलाडीहरुको नाम एकसाता अघि नै सिफारिस गरेको थियो । संघले पुस ८ गते साफ अन्डर नाइन्टीन महिला च्याम्पियनसिपका लागि ७ जना खेलाडीको नाम प्रथम चरणमा सिफारिस गरेकोमा ती मध्ये ६ जनाको नाम दोश्रो चरणको प्रदेश स्तरीय छनोटमा पनि पर्न सफल भएको छ ।


प्रदेश स्तरीय छनौटमा सफल हुने जिल्लाका महिला खेलाडीहरुमा सुनिता माझी, भुमि पुलामी, टिकामाया थापा मगर, दिया लामा, सुशीला सुस्लिङ्ग र स्मृति मोक्तान रहेका छन् । जिल्लाले सिफारिस गरी पठाएको ७ महिला खेलाडीमध्ये मनिका वाईबाको नाम भने दोश्रो चरणको छनोटमा पर्न सफल भएन ।


त्यस्तै च्याम्पियनसिपकै अन्डर सिक्सटिनका लागि पनि सर्लाहीबाट ४ जना महिला खेलाडी दोश्रो चरणको छनौटमा परेका छन् । दोश्रो चरणको छनौटमा पर्ने अन्डर सिक्सटीन महिला खेलाडीहरुमा महिमा आले, स्नेहा ब्लोन, सुशिला गोले र विनुका थिङ्ग रहेकी छन् ।
जिल्लास्तरको पहिलो चरण र प्रदेशस्तरको दोश्रो चरणको छनौट पछि अब उनीहरुले केन्द्रीय छनौटमा पनि भाग लिने र केन्द्रीय छनौटमा पर्नेहरुले आगामी माघमा हुने महिला साफ च्याम्पियनसिप खेल्न पाउने जिल्ला फुटबल संघ सर्लाहीका उपाध्यक्ष विभुसिंह थापाले जानकारी दिनुभयो ।