
सर्लाही,मंसिर -२२ , सर्लाही प्रहरीले जिल्लाको लालबन्दी नगरपालिका – १४ नारायणखोलामा आज (शुक्रवार) १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ।
नेपालमा प्रतिबन्धित करिब १५ बिघामा स्थानीयले लगाएको गाँजा फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिनुभयो ।

गाँजा फडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली सहित स्थानीय प्रशासनका अधिकारीहरु नारायणखोला पुगेका थिए ।
अबैध रुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत आज पहिलो दिन १५ बिघामा लगाइएको गाँजा फडानी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताउनुभयो।

गाँजा खेती लगाइएको स्थानको थप पहिचान गरेर अभियानलाई थप कढाईका साथ लागु गरिने स्थानीय प्रशासनको तयारी छ। प्रत्येक वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गरेको गरेको भएपनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् । सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती रोजेका हुन्।

त्यस क्षेत्रमा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेकाे पाइएको छ । यसरी उत्पादन भएको गाँजा तयारी गरेर नेपाल सहित भारतका विभिन्न बजारहरुमा महंगो मुल्यमा विक्री हुनेगरेको छ।









