सर्लाही,मंसिर-१९ , जिल्लाकाे हरिपुर  र बरहथवा नगरपालिका अन्तर्गत गाउँ ब्लक जग्गाको धनीपुर्जा वितरण गरिएको छ ।
तीन दशक बढी समयदेखि  गाउँ ब्लक जगामा बसोवास गर्दै आएका ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको  हो । बरहथवा नगरपालिका  वडा नं. ११ हीरापुर र वडा नं. १३ लौकठका ५३ परिवारलाई नापी कार्यालय मलंगवाबाट धनी पुर्जा वितरण गरिएको कार्यालय प्रमुख संजय मानन्धरले जानकारी दिनुभयो  ।

उहाँका  अनुसार  बरहथवामा केही महिनाअघि वितरण गर्दा छुट भएका परिवारलाई  मंगलवार (आज) धनी  पुर्जा वितरण गरिएको हाे ।
यता हरिपुर नगरपालिका वडा नं. २ कछडिया टोल, वडा नं. ७ चिताइन र पचगछिया टोल र वडा नं. ८ को जगतपुर तथा हात्तीसारका ३९ परिवारलाई नगरपालिकामा एक कार्यक्रमकाे आयोजना गरी भोगचलनको आधारमा  जग्गाधनी पुर्जा वितरण गरिएको नगर प्रमुख गोपाल पंजियारले जानकारी दिनुभयो ।
नापी कार्यालय मलंगवाको आयोजना र हरिपुर नगरपालिकाको समन्वयमा स्थानीयलाई जग्गा धनिपुर्जा  वितरण गरिएको  हो।
हरिपुरमा नगरप्रमुख गोपाल पंजियार, प्रमुख नापी अधिकृत मानन्धर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्की, हरिपुर २, ७,८र ९का वडाध्यक्षहरु निलबिक्रम थापा,मनोजकुमार चौधरी, हरिबहादुर थापा र विश्वनाथ रायले धनी  पुर्जा वितरण गर्नुभएको थियो ।


हरिपुर नगरपालिकाको विभिन्न वडामा रहेका अव्यवस्थित जग्गालाई विस्तारै व्यवस्थित गर्दै जग्गा धनीपुर्जा वितरण गर्दै  लैजाने नगर प्रमुख पंजियारको भनाइ छ।
स्थानीयले पुस्तौंदेखि भोगचलन गर्दै आएको  गाउँ ब्लकको जग्गालाई प्रक्रिया पूरा गरेर नगरपालिकाको सहयोगमा धनीपुर्जा वितरण गरिएको नापी कार्यालय मलंगवाका प्रमुख संजय मानन्धरले जानकारी दिनुभयो ।
४५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको धनीपुर्जा पाउदा  आफूलाई निकै खुसी लागेको  स्थानीय राजदेव चौधरीको भनाइ छ ।त्यहाँका स्थानीयले वर्षैदेखि जग्गाको  भोगचलन गरेरको भएपनि जग्गाधनी पुर्जा नपाउदा ढुक्कले घर समेत बनाउन सकेका थिएनन् ।