
सर्लाही,कार्तिक -२४, नेपाली कांग्रेस सर्लाही क्षेत्र नं -१ को महासमिति सदस्य निर्वाचन उत्साहप्रद रूपमा सम्पन्न भएको छ ।
लालबन्दी -७ ,मा रहेको जानकी माध्यमिक विद्यालयमा शुक्रवार (आज) भएको मतदानमा क्षेत्र नं.-१ मा रहेका ८९१ मतदाता( क्षेत्रीय प्रतिनिधि महाधिवेशन ) मध्ये ७७२ जना अर्थात ८६.६४ प्रतिशतले मतदान प्रक्रियामा सहभागिता जनाएका मतदान अधिकृत जयकुमार यादव चियाेचर्चाे खबरलाई जानकारी दिए ।

मतदान अधिकृत यादवका अनुसार बिहान ९ बजेदेखि सुरु भई अपरान्ह ४ बजेसम्म चलेको मतदान मा ११९ जना भने सहभागी भएनन् ।निर्वाचन समितिले अहिले केही समय अघि मतगणना सुरु भएको जनाएको छ ।

राति अवेर सम्ममा मत परिणाम सार्वजनिक हुन सक्ने निर्वाचन समितिकाे अनुमान छ ।
सम्पन्न महासमिति सदस्य निर्वाचनमा नेपाली कांग्रेस संस्थापन पक्ष सभापति शेरबहादुर देउवा प्यानलबाट आदिवासी जनजातिमा शम्भुलाल श्रेष्ठ, खस आर्यमा नवराज अधिकारी, खुल्लामा प्रमोदकुमार बराल, शेष सहदुल्लाह, कन्चन साह,सुरेन्द्रकुमार न्यौपाने र बासुदेव अधिकारी र खुल्ला महिलामा रेखा जोशी,दलितमा जुना परियार र मधेशीमा रामबाबु साह उम्मेदवार रहेका छन् ।

त्यस्तै संस्थापन इतर अर्थात् शेखर कोइराला समूहबाट आदिवासी जनजातिमा सत्यदेव सिंह दनुवार, महिलातर्फ लक्ष्मी गोले प्रधान र सुशीला कार्की, प्रत्यक्ष खुल्ला तर्फबाट शिवकुमार गुर्मछान, योगराज देवकोटा, रामचन्द्र चौधरी, दीपक अधिकारी,पम्फा लामा श्रेष्ठ, खसआर्यमा उद्धवप्रसाद पौडेल, मधैशीमा सोनेलाल साह र दलितमा कुश वि.क. उम्मेदवार रहेका छन् ।
जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. ४ मा जिल्ला अधिवेशनकै समयमा निर्वाचनबाटै र क्षेत्र नं. ३ मा केही दिनअघि सर्वसहमतीबाट महासमिति सदस्य चयन भइसकेका छन् भने, क्षेत्र नं.- २ मा विवादका कारण टुंगो लाग्न सकेको छैन ।









