राजु तामाङ/सर्लाही
साउन -२४,नेपालका आदिवासी जनजातिहरुले बुधवार (आज) देशैभर २९ औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाएका छन ।
विगतको वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा  सर्लाहीका आदिवासी जनजाति सम्बद्ध  विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस जातजातिको संस्कृति झल्किने भेषभुषा, नाँचगान सहित मनाएका छन्।


विभिन्न मौलिक जातीय भेषभुषामा सजिएका आदिवासी जनजातिहरुले आज बागमती नगरपालिकाको सभा हलमा दिवस मनाएका हुन ।
विश्वभरिका करिब ९० देशमा बसोबास गर्ने करिब ४८ करोड आदिवासीहरुले हरेक वर्ष अगष्ट महिनाको ९ तारिखका दिन अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा विश्वभर मनाउँदै आएका छन ।
सन १९९४ डिसेम्बर २३ का दिन संयुक्त राष्ट्रसंघको महासभाले सन १९८२ मा संयुक्त राष्ट्रसंघले विश्वका आदिवासीको लागि गठन गरेको कार्यगत समूहले औपचारिक रुपमा बैठक बसेको पहिलो दिनलाई सम्झनास्वरुपमा अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप विभिन्न नाराका साथ यो दिन विभिन्न कार्यक्रमहरु आयोजना गरी विश्वभरिका आदिवासीहरुले मनाउने गर्दछन ।
यो वर्षको विश्व आदिवासी दिवसको मुल नारा – ‘आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ रहेको छ । यद्यपि आदिवासी जनजाति महासंघले भने पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान, सिपको प्रबर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं भन्ने मुल नारा तय गरेको छ ।
नेपालमा ५९ वटा जातजाति आदिवासी जनजातिको सूचीमा सूचिकृत रहेको छ । जसमध्ये सर्लाहीमा भने १६ थरी आदिवासी जनजातिको बसोबास रहेको पाइन्छ ।


प्रदेश सभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यता र अर्का  प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको विशिष्ट आतिथ्यतामा महासंघले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा अतिथिहरु सुरेन्द्र लामा, लेखराम जर्गा मगर, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, बागमती नगरपालिकाकी उपप्रमुख लीला कुमारी मोक्तान, जनजाति अभियन्ता घेदुङका पुर्व केन्द्रीय सदस्य इन्द्र योन्जन, मगर संघका अध्यक्ष पुर्ण बहादुर राना, घेदुङ अध्यक्ष बुद्ध लामा, आदिवासी जनजाति युवा महासंघका उपाध्यक्ष संजिब मोक्तान, हरिवन नगरपालिका वडा २ का वडाध्यक्ष अर्जुन योन्जन, थारु कल्याणकारीनीका केन्द्रीय सदस्य आश नारायण चौधरी, भुजेल समाजका केन्द्रीय सदस्य सन्तोष भुजेल, हायु समाजका केन्द्रीय सदस्य करिना हायु, लगायत अतिथिहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले आदिवासी जनजातिहरुको हकहित र अधिकार प्राप्तिका लागि सबै आदिवासी एक भएर लाग्नुपर्ने बेला आएको बताए । कार्यक्रममा पछिल्लो समय सर्लाहीमा आदिवासी जनजातिहरुको आन्दोलनहरु निकै फितलो हुँदै गएकोमा चिन्ता व्यक्त गरिएको थियो  । वक्ताहरूले महासंघले ठोस योजना बनाएर संगठनलाई सशक्त बनाएर लानुपर्नेमा जोड दिए । संगठनलाई मजबुत बनाउन नेतृत्वको मुख्य भुमिका रहेकोले सरोकारवालाहरुसँग आवश्यक समन्वय र सहकार्य गरी अगाडी बढ्नुपर्नेमा ध्यान दिन आग्रह समेत गरे ।