सर्लाही,फागुन -२,जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा संकटा क्लव प्रवेश गरेको छ ।
मंगलवार(आज)सम्पन्न खेलमा मोफसलको टिम नवजनजाग्रिती यूवा क्लव सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दे संकटा अन्तिम चारमा प्रवेश गरेको हो ।


संकटाको जितमा खेलको ३५ औँ मिनेटमा आयूष घलानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । घलानको गोलमा संकटाले खेलको पहिलो हाफ १–० को अवस्थामा पुर्‍याएकाे थियो ।
सुरुदेखीनै लयमा खेलेको संकटाका लागि खेलको ४२ औँ मिनेटमा गणेश हमालले दोस्रो गोल गरे । मनिस डाँगीको पासमा हमालले सहज गोल गरेका थिए । उनको गोल सँगै संकटा २–० को अवस्थामा पुगेको थियो । खेल अवधी भर अधिक समय बल संकटाको नियन्त्रण रहेको थियो ।


लगातार आफुलाई खेलमा फर्काउन खोजेको लागि नव जनजाग्रिती फुटलव क्लव सिमरा असफल रह्यो ।
खेलको ५८ औँ मिनेटमा सुनिल बलको पासलाई मनिस डाँगी आकर्षक गोलमा परिणत गरिदिएपछि खेल ३–० को अवस्थामा पुगेको हो । खेलमा कुशल प्रदर्शन गरेका डाँगी खेलको म्यान अफ दि म्याच घोषित हुदै ट्रफि र १० हजार नगद पुरस्कार समेत प्राप्त गर्न सफल भए । संकटाको सामु नवजनजाग्रिती सिमरा केही निरिह प्रस्तुत भएको थियो ।

जित सगैँ संकटाले सेमिफाइनल खेलमा जावलाखेल सगँको भेट पक्का गरेको छ । जावलाखेल प्रि क्वाटरफाइनलमा सशस्त्र प्रहरी र क्वाटरफाइनलमा साविक विजेता पिप्ले यूवा क्लवलाई पराजित गर्दै सेमिफाईलनमा प्रवेश गरेको हो । यस्तै प्रतियोगिताको अन्तिम सेमिफाईनल खेलमा बुधवार मच्छिन्द्र फुटवल क्लव र आयोजक बागमती युवा क्लव सर्लाही विच प्रतिस्पर्धा हुनेछ ।
फागुन ७ गते हुने फाईनल खेलका विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।