सर्लाही,भदौ -३, लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०७९‘ का लागि उत्कृष्ट एक कृति छनोट गरेको छ ।
स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट डा. नवराज लम्सालकृत ‘अग्नि’ महाकाव्यले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९‘ हात पारेको छ ।

स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेकाे उत्कृष्ट एक कृति ‘अग्नि’ सिफारिस गरेपछि परिषद्ले एक विज्ञप्तिमार्फत आज(शुक्रवार ) सार्वजनिक गरेको छ।

लालबन्दी नगर वाङ्‌मय परिषद्ले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०७९‘ का लागि उत्कृष्ट दश कृतिहरू साउन २६ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।
त्यस्तै ‘लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार –२०७९‘ नेपाली भाषा तथा साहित्य सेवक एवम् सञ्चारकर्मी क्षितिज विश्‍वकर्माले पाउने भएका छन् । लालबन्दी नगर वाङ्‌मय स्थानीय प्रतिभा पुरस्कारको राशि .१० हजार र  लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०७९ (राष्ट्रिय) को पुरस्कार राशि  ५० हजार रहेको लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा  उल्लेख  छ ।