लालबन्दी,पुस -१९,सर्लाहीको लालबन्दीमा एक शिक्षकको मोटरसाइकलमा आगजनी भएको छ । जनज्योति माध्यमिक विद्यालय लालबन्दीका शिक्षक लालबन्दी नगरपालिका–१०, चन्द्रपुर निवासी चेतबहादुर मगरको बागमती प्रदेश–०२–०१९ प ६१३१ नम्बरको एभेञ्जर मोटरसाइकलमा गएराती नचिनेका मानिसले आगजनी गरेका हुन् ।

आगजनीबाट मोटरसाइकलको इन्जिन लगायतका विभिन्न भाग जलेकाले नचल्ने अवस्थामा पुगेको छ । आगजनी भएको थाहा पाउनासाथ पानी हालेर निभाएकाले मोटरसाइकल पूर्णरुपमा जल्न भने नपाएको शिक्षक मगरले बताए। आफुले घटनाबारे अनुसन्धान गरिदिन लालबन्दी प्रहरीमा खबर गरेको शिक्षक मगरले जानकारी दिए ।









