ईश्वरपुर,पुस –१६, जिल्ला प्रशासन कार्यालय सर्लाहीले ईश्वरपुरमा जारी गरेकाे निषेधाज्ञाकाे म्याद तेस्रो पटक थप गरेकाे छ ।

बुधवार लालबन्दीमा भएको सहमती अनुसार हिजो (बिहीवार ) मृतकका परिवार शव बुझ्न मलंगवा पुगेपनि त्यसै फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले मृतकका परिवार चालकविरुद्ध जाहेरी दिन र शब बुझ्न भनेर आएपनि त्यसै फर्किएका जनाएको छ ।
मृतकको परिवारले अझै शव बुझेकाले बयलवास बजार क्षेत्रमा पुनः प्रदर्शन हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले तेस्रो पटक निषेधाज्ञा म्याद थप गरेको हाे ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बिहीवारसाँझ सूचना जारी गर्दै , बिहीवार बेलुका ७ बजेदेखि आज(शुक्रवार ) बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेका छन् ।
बयलवास बजारमा गएको मंगलवार दिउँसो ३ बजेदेखि नै निरन्तर निषेधाज्ञा जारी छ । निषेधाज्ञाले गर्दा बजार बन्द भएकाले स्थानीयको जनजीवन प्रभावित भइरहेको छ ।
बिहीवार बयलवासमा घटनाबारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति गठन गरिएको छ । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरले २ नं. प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर, धनुषाका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र प्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवार, २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) प्रेमकुमार साह र सङ्घीय प्रहरी एकाई कार्यालय जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोद कुमार साह सदस्य रहेका छन् ।
समितिलाई उक्त दुर्घटनाको सम्वन्धमा वास्तविक सत्य–तथ्य बुझेर अबिलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । गएको आइतवार राती ९ बजेतिर ईश्वरपुर नगरपालिका–७, स्थित नगरपालिका कार्यालय नजिकै गस्तीमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको भ्यानले ठक्कर दिँदा ना ४३ प ५०१८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।
बुधबार लालबन्दीमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीबीच भएको छलफलबाट घटनाको सम्वन्धमा अनुसन्धान गर्न समिति गठन गर्ने, मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने लगायत छ बुँदे सहमती भएपछि आन्दोलन भने रोकिएको छ ।
अस्तीको सहमती अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो पीडित परिवारलाई १० लाख रुपियाँ राहत उपलब्ध गराइदिन माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरिसकेको जनाएको छ ।









