मलंगवा, जेठ ६ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले बुधवारबाट सम्हालेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको  जेठ १ गतेको पत्रादेशअनुसार उनको सर्लाही सरुवा भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित कार्यक्रमबीच एसपी पौडेलले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि उनले जिल्लाको समग्र शान्तिसुरक्षा अवस्था, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा प्रहरी प्रशासनसँग सम्बन्धित वर्तमान वस्तुस्थितिबारे जानकारी लिएका थिए।त्यस अवसरमा उनले कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकृत, कनिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीसँग परिचयात्मक भेटघाट गर्दै सेवाप्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए।
प्रहरी संगठनभित्र अनुशासन, जिम्मेवारीबोध तथा नागरिकमैत्री व्यवहारलाई प्राथमिकतामा राखेर काम गर्न उनले निर्देशन दिएको बताइएको छ।

एसपी पौडेलले जिल्लामा शान्ति सुरक्षालाई थप सुदृढ बनाउँदै अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाइने बताएका छन्। उनले नागरिकको सुरक्षा पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै प्रहरी र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।साथै, जिल्लामा हुने आपराधिक गतिविधि नियन्त्रण, लागूऔषध दुव्र्यसन न्यूनीकरण, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथामलगायत विषयमा विशेष ध्यान दिइने जानकारी पनि उनले दिएका छन्।

प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र चुस्त सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गरिने उनको भनाइ थियो।
जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डीएसपी सरोज राईका अनुसार पदभार ग्रहणपछि एसपी पौडेलले जिल्लाको सुरक्षा अवस्थाबारे प्रारम्भिक समीक्षा गरेका छन्।
उनले जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने लक्ष्यसहित काम अघि बढाइने बताएका छन्।