सर्लाही, जेठ ५ । समाचार सम्प्रेषणको विषयलाई लिएर सर्लाहीमा पत्रकारमाथि डर, त्रास र धम्की दिने क्रम बढ्दै गएको भन्दै नेपाल पत्रकार महासंघ सर्लाहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले मंगलवार प्रेस विज्ञप्तिमार्फत पत्रकारमाथि हुने धम्की र गालीगलौज प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कार्य भएको उल्लेख गर्दै आपत्ति प्रकट गरेको छ ।
एभिन्यूज खबरका सर्लाही संवाददाता तथा लोकतन्त्र दैनिकका पत्रकार बख्तियार अलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिइएको विज्ञप्तिमा उल्लेख छ।

महासंघ सदस्यसमेत रहेका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार अलीलाई समाचार सम्प्रेषणकै विषयलाई लिएर ‘सब पत्रकारिता निकाल्छु’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिइएको विज्ञप्तिमा उल्लेख छ।
पत्रकार अलीले महासंघलाई दिएको जानकारीअनुसार जेठ ३ गते ‘सर्लाही मिडिया हाउस’ र ‘डेली न्यूज अपडेट’ नामक फेसबुक ग्रुपमार्फत धम्की र गालीगलौज गरिएको थियो।
ती ग्रुपमा आफूलाई ‘पत्रकार कम दलाल धेरै’ जस्ता शब्द प्रयोग गरेर अपमान गरिएको अलीले बताएका छन्।
महासंघले श्रमजीवी पत्रकारमाथि बिना प्रमाण र आधार यस्ता आरोप लगाउनु तथा धम्कीसहित अपशब्द प्रयोग गर्नु दुःखद् भएको जनाएको छ।

पत्रकारले प्रकाशन गरेको समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अपनाउन सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जालमा गालीगलौज र धम्कीमा उत्रनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको महासंघको ठहर छ।
महासंघले यस्ता गतिविधि गर्ने जोकोही भए पनि प्रतिवाद गर्ने चेतावनी दिएको छ। साथै पत्रकार अलीलाई धम्की दिन प्रयोग भएका ‘डेली न्यूज अपडेट’ र ‘सर्लाही मिडिया हाउस’ का एडमिनमाथि आवश्यक छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।

महासंघका सचिव सोम दियालीद्वारा जारी विज्ञप्तिमा पत्रकारमाथि हुने धम्की र दुव्र्यवहार रोक्न सरोकारवाला निकायलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।