सर्लाही, जेठ ५ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवासस्थित नारायण माध्यमिक विद्यालयको खेल मैदानमा आगलागीसम्बन्धी विपद् पूर्वतयारी कृत्रिम घटना अभ्यास ९सिमुलेसन एक्सरसाइज० सम्पन्न भएको छ।
जिल्ला सुरक्षा समिति सर्लाहीको आयोजनामा तथा ईश्वरपुर नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
![]()
कार्यक्रममा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। कृत्रिम आगलागीको अवस्था सिर्जना गरी उद्धार, नियन्त्रण तथा समन्वयका गतिविधिबारे सुरक्षा निकायले संयुक्त अभ्यास गरेका थिए। अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको सक्रिय सहभागिता रहेको थियो।

अभ्यासका क्रममा आगलागी भएको अवस्थामा स्थानीयवासीको सुरक्षित उद्धार, घाइतेको प्राथमिक उपचार, भीड व्यवस्थापन, आगो नियन्त्रण तथा सम्भावित क्षति न्यूनीकरणका उपायबारे प्रदर्शन गरिएको थियो। सुरक्षा निकायले विपद्का बेला अपनाउनुपर्ने सावधानी र समन्वयको महत्वबारे समेत जानकारी दिएका थिए।

कार्यक्रममा स्थानीय भद्रभलाद्मी, विद्यार्थी, जनप्रतिनिधि तथा सर्वसाधारण गरी करिब २०० जनाको सहभागिता रहेको थियो । सहभागीहरूले विपद् व्यवस्थापनसम्बन्धी व्यवहारिक अभ्यासले सचेतना अभिवृद्धि हुनुका साथै आपत्कालीन अवस्थामा कसरी काम गर्ने भन्ने विषयमा उपयोगी जानकारी प्राप्त भएको बताए।
जिल्ला सुरक्षा समितिले यस्ता अभ्यासले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने जनाएको छ। पछिल्लो समय आगलागीलगायत विभिन्न विपद्का घटना बढ्दै गएकाले स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा विपद्का बेला नागरिकको जीवन र सम्पत्तिको संरक्षणका लागि पूर्वतयारी, सचेतना र द्रुत समन्वय अपरिहार्य रहेको बताइएको थियो ।









