
ईश्वरपुर, फागुन–१६ । नेपाली कांग्रेसका सभापति भोलि फागुन १६ गते शनिवार बिहान ११ बजे सर्लाही निर्वाचन क्षेत्र नं. १ अन्तर्गत ईश्वरपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । कार्यक्रम ईश्वरपुर नगरपालिका—६ स्थित बयलबास बजार पुरानो नगरपालिका भवन नजिकै आयोजना गरिने तय भएको छ ।

नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर(१ का सभापति हरिबहादुर लुंगेलीका अनुसार सभापति थापाको उपस्थितिले क्षेत्रको चुनावी माहोल थप उत्साहपूर्ण बन्ने अपेक्षा गरिएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त सभामा पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण, विकासका एजेन्डा तथा वर्तमान राजनीतिक परिस्थितिबारे वक्ताहरुले बोल्ने छन्।

क्षेत्रीय सभापति लुंगेलीले कार्यक्रममा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, नेपाली कांग्रेसप्रति आस्थावान समर्थक, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई अनिवार्य रूपमा उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् । उनले सभापति थापाको सम्बोधनले कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गरे ।

जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले यो सभा आयोजना गरिएको बताइएको छ। विशेषगरी युवापुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्ने तथा विकास, सुशासन र समावेशी राजनीतिका विषयमा स्पष्ट धारणा प्रस्तुत गर्ने कार्यक्रमको लक्ष्य रहेको आयोजकहरूले जनाएका छन् ।

कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन स्थानीय स्तरमा तयारी तीव्र पारिएको छ । सभास्थलको व्यवस्थापन, सुरक्षा प्रबन्ध र जनसहभागितालाई ध्यानमा राख्दै आवश्यक पूर्वाधार र व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेको बताइएको छ ।

मतदानको मिति नजिकिदै जादा महत्त्वपूर्ण मानिएको सर्लाही क्षेत्र नं. १ मा सभापति थापको आगमनले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने विश्लेषण गरिएको छ । सभापति थापाको सम्बोधनमार्फत पार्टीको आधिकारिक धारणा सार्वजनिक हुनुका साथै स्थानीय मुद्दाहरूलाई पनि प्राथमिकताका साथ उठाइने अपेक्षा गरिएको छ ।

यसैबीच,े समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन सम्पूर्ण समर्थकहरूलाई आयोजकले आग्रह गरेका छ । भोलि बिहान ११ बजे हुने उक्त सभाले क्षेत्रको राजनीतिक गतिविधिलाई थप गति दिने विश्वास गरिएको छ ।









