
मलंगवा, फागुन १५ । लोकसेवा आयोगको नतिजा धेरैका लागि भविष्यको ढोका खोल्ने क्षण हुन्छ । तर सर्लाहीको मलंगवामा भने त्यही नतिजा एक युवा प्राविधिकका लागि जीवनकै अन्तिम अध्याय बन्यो । स्थायी जागिरको लोभ, अस्वस्थ प्रतिस्पर्धा र अपराधतर्फको झुकावले ३६ वर्षीय सव–इन्जिनियर प्रमोदकुमार यादवको ज्यान लियो ।
फागुन ३ गते साँझ करिब ७ः५५ बजे मलंगवा नगरपालिका–१० स्थित डेरामा बसेका यादवलाई फोन आयो । बोलाउने आवाज परिचित थियो । उनी बाहिर निस्किए । केही क्षणमै गोलीको आवाज गुञ्जियो । छातीमा गोली लागेर ढलेका उनलाई तत्काल प्रादेशिक अस्पताल पु¥याइयो, तर चिकित्सकले मृत घोषणा गरे ।

प्रहरी अनुसन्धानले सार्वजनिक गरेको तथ्यले घटनाको पृष्ठभूमि अझै भयावह बनाएको छ । मधेश प्रदेश लोक सेवा आयोगले सहायक पाँचौं तह (सव–इन्जिनियर) पदका लागि लिएको परीक्षामा प्रमोदकुमार यादव मुख्य सिफारिसमा परेका थिए । त्यही पदका एक मात्र वैकल्पिक उम्मेदवार थिए ३४ वर्षीय गणेशकुमार महतो ।
महोत्तरी रामगोपालपुर–५ घर भई सर्लाहीको रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत महतोले कानुनी प्रावधानको ‘ठाउँ’लाई अवसरको रूपमा देखे । मुख्य सिफारिस भएका उम्मेदवारको नियुक्ति भएको एक वर्षभित्र पद रिक्त भए वैकल्पिक उम्मेदवारलाई मौका मिल्ने सम्भावनाले उनको मनमा अपराधको बीउ रोपेको प्रहरीको निष्कर्ष छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार महतोले मृतकसँग ‘राकेश यादव’ नाम प्रयोग गरी चिनजान बढाएका थिए । अन्तरवार्ताको दिनदेखि सुरु भएको चिनजान क्रमशः विश्वासमा परिणत भयो । मृतकको मोबाइलमा समेत उक्त नम्बर ‘राकेश यादव’कै नाममा सुरक्षित रहेको भेटिएको छ ।
अनुसन्धानले देखाएको अर्को पाटो हो, पूर्वयोजना । प्रहरीका अनुसार महतोले दशैंअघि नै आफ्ना भाइ विजयकुमारलाई ८० हजार रुपैयाँ दिएर अवैध पेस्तोल खरिद गर्न लगाएका थिए । त्यही हतियारबाट प्रमोदकुमारमाथि नजिकबाट गोली प्रहार गरिएको प्रारम्भिक निष्कर्ष छ ।

घटनाका दिन महतो आफ्ना साला नाता पर्ने २२ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहासँग मोटरसाइकलमा मलंगवा पुगेका थिए । गोली प्रहारपछि उनीहरू भागेर रौतहटको गढीमाई नगरपालिका–५ बलुवास्थित बागमती नदी किनारमा मोटरसाइकल छाडेर फरार भए ।
केही दिनपछि मलंगवा–४ स्थित निर्माणाधीन हनुमान मन्दिरमा स्थानीय बालकले खेल्ने क्रममा भेटिएको पेस्तोल नै घटनामा प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । उक्त हतियारको फरेन्सिक परीक्षणपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ ।

प्रहरीले मुख्य योजनाकार महतोलाई फागुन १२ गते मलंगवा–८ बाट पक्राउ ग¥यो । त्यसपछि चन्द्रकिशोर सिंह कुशवाहा र विजयकुमार महतो पनि फरकफरक स्थानबाट समातिए । उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना सम्बन्धी कसूर र आपराधिक षड्यन्त्रमा अनुसन्धान भइरहेको छ । दोष प्रमाणित भए जन्मकैदसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
यो घटना एक व्यक्तिको हत्या नभई यसले सार्वजनिक सेवा प्रणालीभित्र बढ्दो अस्वस्थ प्रतिस्पर्धा, करार र स्थायी पदबीचको असन्तुलन र रोजगारीप्रतिको लालचलाई उजागर गरेको छ ।

स्थायी सरकारी जागिर अझै पनि सामाजिक प्रतिष्ठा, आर्थिक स्थायित्व र भविष्यको सुरक्षासँग जोडिएको छ । तर त्यही आकांक्षा जब अधैर्य र लालचमा रूपान्तरित हुन्छ, त्यसले व्यक्तिलाई अपराधसम्म धकेल्न सक्छ भन्ने उदाहरण मलंगवाको यो घटनाले दिएको छ ।

प्रमोदकुमार यादवको परिवार शोकमा छ । उनी सिरहाको सुखीपुर नगरपालिका–९ बैशाखाका बासिन्दा थिए । परिवारले अब न्यायको प्रतीक्षा गरिरहेको छ । मलंगवाको यो गोलीकाण्डले राज्य संयन्त्रलाई एउटा गम्भीर सन्देश दिएको छ । रोजगारीको अवसर विस्तार, पारदर्शिता र मनोपरामर्शजस्ता पक्षमा ध्यान नदिइए यस्ता त्रासदीपूर्ण घटना फेरिपनि दोहोरिन सक्ने खतरा रहन्छ ।
स्थायी जागिरको सपना देख्दा कसैले सोचेका थिएन्न होला,त्यही सपना कसैको जीवन समाप्त गर्ने कारण बन्ला भनेर ।









