लालबन्दी, फागुन— ११ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार शम्भुलाल श्रेष्ठले आफ्नो लागि घोषणा पत्र सार्वजनिक गर्दै क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट कार्यदिशा प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसका केन्दीय सदस्यसमेत रहेका उम्मेदवार श्रेष्ठले संविधान कार्यान्वयन, प्रभावकारी कानुन निर्माण, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, आधुनिक कृषि, औद्योगिक विकास र पूर्वाधार विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्।


घोषणा पत्रमा उनले सांसदका रूपमा संविधान कार्यान्वयनका क्रममा दुई पटकका निर्वाचन अभ्यासबाट देखिएका कमजोरी सुधार गर्न आवश्यक कानुनी संशोधनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। देश र जनताको हितविपरीत हुने कुनै पनि विधेयकमा समर्थन नगर्ने र सदनमा जनपक्षीय आवाज बुलन्द गर्ने उनले बताएका छन् ।
उनले लालबन्दी नगरपालिका–१६ मा लालबन्दी नगरपालिका र काठमाडौं विश्वविद्यालयबीच भएको सम्झौताअनुसार प्राविधिक धारतर्फको उच्च शिक्षालय स्थापना प्रक्रिया टुंग्याउन पहल गर्ने उल्लेख गरेका छन् । क्षेत्रभित्र रहेका क्याम्पसहरूलाई प्राविधिक तथा उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्दै स्थानीय विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य उनले लिएका छन् । सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थी दरबन्दी मिलान, प्रविधिमैत्री शिक्षण प्रणाली र गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।


श्रेष्ठले निर्वाचन क्षेत्रभित्रका सबै नगर तथा गाउँपालिका अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तारका लागि संघीय अर्थ मन्त्रालयबाट पर्याप्त बजेट विनियोजन गराउने बताएका छन् । लालबन्दीमा मधेश प्रदेशकै नमुना ट्रमा सेन्टर स्थापना, ईश्वरपुर नगर अस्पताललाई ‘किड्नी उपचार केन्द्र’का रूपमा विकास, हरिपुर नगर अस्पतालमा सुरक्षित बर्थिङ सेन्टर सञ्चालन तथा चन्द्रनगर गाउँ अस्पताललाई सुविधा सम्पन्न ग्रामीण अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारिएको छ ।


ईश्वरपुरलाई औद्योगिक करिडोरका रूपमा विकास गर्न विशेष कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रदूषणमुक्त बनाउने तथा उपयुक्त स्थानमा शीत भण्डार केन्द्र निर्माण गर्ने योजना घोषणा पत्रमा समेटिएको छ । युवालाई सामुदायिक तथा घरेलु उद्योगतर्फ आकर्षित गर्दै रोजगारी सिर्जना गर्ने र औद्योगिक नीति समयानुकूल परिमार्जन गर्न पहल गर्ने उनले बताएका छन्। चौलिखा र खैरा बजार क्षेत्रमा प्रहरी पोस्ट स्थापना गरी सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
कांग्रेस केन्दीय सदस्यसमेत रहेका श्रेष्ठले कृषि विद्युतीकरण विस्तार, स्यालो ट्युबवेल, पावर ड्रिल र डिप ट्युबवेल जडान, सुनकोशी–मरिण डाइभर्सन आयोजनाको पानी लखनदेहीमा झारी सुख्खा भूमिमा सिँचाइ सुविधा पु¥याउने योजना अघि सारेका छन्। विभिन्न स्थानलाई मत्स्यपालन, पशुपालन, मौरीपालन र तरकारी जोनका रूपमा विकास गर्ने, मल, बिउबिजन र विद्युत आपूर्ति सहज बनाउने तथा फलफूल र जडिबुटी खेती प्रवद्र्धन गर्ने कार्यक्रम पनि घोषणा पत्र समावेश छन्। अधुरा नहर विस्तार गरी ईश्वरपुर र चन्द्रनगरका सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने प्रतिबद्धता जनाइएको छ।


लालबन्दीदेखि कालिन्जोरसम्म धार्मिक तथा पर्यटकीय सर्किट विकासको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनमा ल्याउने, तामाङ र थारु भाषा तथा सांस्कृतिक कला केन्द्रलाई सुदृढ बनाउने तथा विविध समुदायका भाषा, संस्कृति र परम्पराको संरक्षणमा सहयोग गर्ने योजना घोषणा पत्रमा उल्लेख छ।
वन संरक्षणका लागि वृक्षरोपण अभियान, नदी नियन्त्रण कार्यक्रम, चन्द्रनगरको नाढीमन ताललाई सिमसार पर्यटकीय क्षेत्रका रूपमा विकास तथा फोहोर व्यवस्थापनका लागि एकीकृत डम्पिङ साइट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । त्रिभुवननगर–लालबन्दी–मरिण हुँदै काठमाडौं जोड्ने छोटो दूरीको लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने, अधुरा सडक, पुल तथा कालोपत्रे निर्माणलाई तीव्रता दिने र सञ्चार तथा इन्टरनेट सेवा विस्तार गर्ने योजना पनि घोषणा पत्र सार्वजनिक गरिएको छ ।