काठमाडौँ,माघ-२७ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता तथा समाजसेवी भोजराज भट्टराईको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले परिवारजनलाई पठाएको समवेदना सन्देशमा भोजराज भट्टराईलाई असल र सदाचारी समाजसेवीका रूपमा स्मरण गरेका छन्। सन्देशमा श्री वीन्ध्यवासीनी निमावि खोप्लाङका संस्थापक रहेका भट्टराईले गाउँघरका दीनदुःखीलाई सहयोग गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।
सन्देशमा स्वर्गीय भट्टराईको आत्माको चीरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गरिएको छ भने शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
उक्त समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले पूर्व प्रधानमन्त्री डा. भट्टराईलाई हस्तान्तरण गरेका थिए। सो अवसरमा प्रथम महिला सबिता पौडेल पनि उपस्थित थिइन्।









