
लालबन्दी, माघ २६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज मंगलवार सर्लाही आउने भएका छन् । सर्लाही क्षेत्र नम्बर–४ का उम्मेदवारसमेत रहेका थापा दोस्रोपटक सर्लाही आउन लागेका हुन् ।

नेता थापा लालबन्दीमा कार्यकर्तासँग संक्षिप्त भेटघाट गरि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुग्ने कार्यतालिका रहेको नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर–१ (ख) का सभापति सीताराम दाहालले जानकारी दिए ।

लालबन्दीमा थापाले साँझ ६ बजेपछि नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर–१ ले लालबन्दीस्थित महालक्ष्मी विकास बैंकको मुनी स्थापना गरेको सम्पर्क कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभापतिको व्यस्ततालाई मध्यनजर गर्दै साँझसम्म कार्यक्रम परिमार्जन गरी कोणसभा आयोजना हुन सक्ने सम्भावना रहेको कांग्रेस नेता दीपक अधिकारीले बताए ।

थापा हिजो विराटनगर पुगेका थिए । यसअघि माघ १२ गते सर्लाही आएका थापा माघ १६ गते साँझ जनकपुर हुँदै काठमाडौं फर्किएका थिए । यस अवधिमा उनले जनकपुर, काठमाडौं, पोखरालगायत देशका विभिन्न स्थानमा पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए ।










