
सर्लाही,असाेज-३ गते । सरकारले असोज ३ गते संविधान दिवस धूमधामका साथ मनाइरहदा मधेस केन्द्रित दलहरूले ‘कालो दिवस’ काे रूपमा मनाएका छन् ।
सर्लाहीको मलंगवामा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको उपस्थितिमा उक्त पार्टीकाे सर्लाही जिल्ला कार्य समितिले “असोज तीन कालो दिन”को रुपमा मनाएको हाे ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष राम नरेश राय, सचिव हुसेन खान, केन्द्रीय सदस्यहरु गौरी नारायण साह, जिल्ला अध्यक्ष गणेश यादव, जिल्ला इन्चार्ज बिनोद साह लगायतको उपस्थिति रहेको उक्त पार्टीले जनाएको छ । संविधान दिवसको विरोधमा उनीहरूले कालाे ब्यानरमा कार्यक्रम गरेका थिए ।

संविधान सभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको थियो । नेपालमा संविधान जारी हुदै गर्दा भारतलेसमेत असन्तुष्टि जनाएको थियो ।
सोही दिनको सम्झनामा सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिएर दिवस मनाउने गरेको छ । तर मधेस केन्द्रित दलहरूले आजको दिनलाई कालो दिवसका रूपमा मनाउदै आएका छन्।

मधेस केन्द्रीत दलहरूले संविधान अधुरो रहेको भन्दै त्यसमा संशोधनको माग गर्दै आएका छन् । संविधान जारी भएको दिन मधेसमा आन्दोलन भएको थियो । मधेस आन्दोलनमा आन्दोलनकारीको मृत्युसमेत भएको थियो । त्यसैले मधेस केन्द्रित दलहरूले याे दिनलाई कालो दिवसको रूपमा मनाउँदै आएका हुन ।









