
मलंगवा,असोज— १ गते । सर्लाही जिल्लाको हरिपुर्वामा एक महिनाअघि घटेको रामपुकार यादवको हत्या प्रकरणमा फरार मुख्य अभियुक्त भारतबाट नेपाल फर्किने क्रममा पक्राउ परेका छन् ।

हरिपुर्वा नगरपालिका–६ निवासी ५० वर्षीय रामपुकार यादवको साउन ३१ गते आफ्नै घरमा अज्ञात व्यक्तिबाट गोली प्रहार भई मृत्युको थियो । सो घटनामा संलग्न रहेका सोही वडाका २६ वर्षीय सन्तोष उर्फ अभिकुमार यादवलाई सर्लाही प्रहरीले पर्सा गाउँपालिका–३, नारायणपुर नजिकैको सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार, हत्यापछि अभियुक्त अभिकुमार यादव भारततर्फ भागेका थिए र त्यहाँ लुकिछिपी बस्दै आएका थिए। नेपाल फर्किने क्रममा सीमामा निगरानीमा रहेका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन् ।
सर्लाही प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार अभियुक्तविरुद्ध कर्तव्य ज्यान सम्बन्धी अभियोगमा कानुनी प्रक्रिया अघि बढाइएको छ।

घटनाका प्रत्यक्ष संलग्न रहेर गोली प्रहार गर्ने धीरु उर्फ धीरेन्द्र राय भने घटना भएकै दिन पक्राउ परेका थिए । हरिपुर्वा नगरपालिका–५का २६ वर्षीय धीरेन्द्र राय मोटरसाइकलबाट भाग्ने क्रममा लडेपछि बसन्तपुरमा प्रहरीले उनलाई समातेको थियो । प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले छोरासँगको आपसी विवादकै कारण रामपुकारमाथि गोली प्रहार गरिएको बयान दिएका प्रहरीले जनाएको छ ।









