![]()
सर्लाही, भदौ -२५ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले हाल देशभर चर्किएको जेनजी आन्दोलनका क्रममा सर्वसाधारण तथा सार्वजनिक सम्पत्तिमा भइरहेको क्षतिको कडा शब्दमा भर्त्सना गर्दै, त्यस्ता गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
![]()
प्रशासनले आज (भदौ २५ गते) जरुरी सूचना जारी गर्दै आन्दोलनको नाममा भइरहेको हिंसात्मक गतिविधिको अनुचित फाइदा उठाएर केही समूहहरूले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याइरहेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ, “सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्यलाई कुनै पनि हालतमा सहन सकिने छैन, र यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई हदैसम्मको कारबाही गरिनेछ।”
![]()
प्रशासनले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ, भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नेपाली सेना र सम्माननीय राष्ट्रपतिको आह्वानमा भदौ २४ गते वार्ताका लागि पहल भइसकेको र जेनजी पक्षबाट पनि वार्ताप्रति सकारात्मक धारणा सार्वजनिक भइसकेको सन्दर्भमा प्रशासनले आन्दोलन अब संवादको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

यसै क्रममा जेनजी अभियानकर्ताहरूले पनि सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउने लिखित प्रतिबद्धता जनाइसकेको बताइएको छ। यद्यपि, यसका बाबजुद आज बिहानैदेखि जिल्लामा हिंसात्मक गतिविधिहरू भएको भन्दै प्रशासनले गम्भीर चासो व्यक्त गरेको छ।
सर्लाही प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै नागरिकलाई संयमित रहन र कानुन विपरीत गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ ।









