लालबन्दी, १४ भदौ – सर्लाही जिल्लाभर शनिवार(भाेली) बिहान ५:३० बजेदेखि ९:३० बजेसम्म चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले नवलपुरस्थित ग्रिड सवस्टेशनमा क्यापेसिटर बैंक जडान तथा अन्य मर्मत सम्भारका कामका लागि लाइन सटडाउन गर्न लागेको हो।
प्राधिकरणले शुक्रवार एक सूचना प्रकाशित गर्दै उपभोक्ताहरूलाई विद्युत् अवरुद्ध हुने जानकारी गराएको हो। सर्लाही जिल्लाभर नवलपुर ग्रिड सवस्टेशनबाट विद्युत् प्रवाह हुने भएकाले यसको प्रत्यक्ष असर लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरूमा पर्ने प्राधिकरणले जनाएको छ।
लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवका अनुसार, तोकिएको समय अवधिभर सम्पूर्ण वितरण क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द हुनेछ।
प्राधिकरणले उपभोक्ताहरूलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्थाको तयारी गर्न आग्रह गरेको छ।