
सर्लाही, भदौ—१३, जिल्लाको लालबन्दी नगरपालिका–८ स्थित खतिवडा चोक नजिकै लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा जाँच गर्दा २५ केजी गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बिहिवार बिहान ११ः५५ बजेको समयमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा खटिएको ७ जनाको टोलीले शङ्कास्पद रूपमा पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्न खोज्दा सवारीमा रहेका दुई जना झोला र मोटरसाइकल छोडेर खेततर्फ भागेका थिए।

प्रहरीले तीमध्ये एक जनालाई नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोन रहेका छन्। अर्का व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ, फरार भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
भाग्दै गर्दा छाडिएको दुईवटा झोलाको चेकजाँच गर्दा एउटा झोलामा ५ केजी गाँजाको एक पोका र अर्को झोलामा ५÷५ केजीका चार पोका गरी जम्मा २५ केजी बराबरको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति र बरामद गरिएको मोटरसाइकलसहित लागू औषध सम्बन्धी मुद्दामा सन्ते ब्लोनलाई शक्रवार जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ।










