
लालबन्दी, भदौ- १२ गते , नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति तथा नेपाल किसान संघका पूर्व केन्द्रीय अध्यक्ष, प्रजातान्त्रिक सेनानी वासुदेवशरण कोइरालाको स्मृतिमा आज श्रद्धाञ्जली सभा आयोजना गरिँदैछ।
नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिको आयोजनामा र लालबन्दी नगर समितिको व्यवस्थापनमा उक्त श्रद्धाञ्जली सभा जुटपानी स्थितपद्मभुवनेश्वरी नमूना वृद्धसेवाआश्रममा बिहान ११ बजेपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।

कांग्रेस सर्लाहीका कार्यबाहक सभापति डा. सरोज कुमारका अनुसार श्रद्धाञ्जली सभामा कांग्रेसका नेता, कार्यकर्ताहरू तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहनेछ।
वासुदेवशरण कोइरालाको ९४ वर्षको उमेरमा लालबन्दी नगरपालिका–२, जुटपानीस्थित आफ्नै निवासमा निधन भएको थियो। कोइराला २०१२ सालदेखि कांग्रेसमा सक्रिय रहँदै २०१५ सालको निर्वाचन, २०१८ को सशस्त्र आन्दोलन, २०३०–३२ को सशस्त्र विद्रोह र २०४२ सालको सत्याग्रहमा समेत सहभागी भएका थिए। उनको योगदान नेपाली लोकतान्त्रिक आन्दोलनमा अमिट छ।

सामाजिक सेवामा समेत सक्रिय रहेका कोइरालाले आफ्नो घर दान दिई पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाआश्रम स्थापना गरेका थिए, जसबाट वृद्धवृद्धाहरूलाई सेवा पाइरहेका छन् ।

यसअघि, नेपाली कांग्रेस क्षेत्र नं. १ ले पनि पार्टीका पूर्व महामन्त्री डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा श्रद्धाञ्जली सभा आयोजना गरिसकेको छ।










