कृष्ण थपलिया /सर्लाही भदौ -११ गते, सर्लाहीको लालबन्दी नगरपालिका–९ डुमडुमेमा अवस्थित लालबन्दी नगर अस्पतालले पछिल्लो समय आम नागरिकको विश्वास जित्न सफल भएको
नगर अस्पतालमा स्तरोन्नति भइ नगरपालिकबाट  व्यवस्थापन हुन थालेपछि अस्पतालमा सेवाग्राहीकाे चाप बढ्न थालेको हाे।


अस्पतालका प्रशासन प्रमुख जनस्वास्थ्य निरीक्षक हिमांशु शेखर कर्णका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र ६२ हजार ३ सय १० जनाले उपचार  सेवा लिएका छन्।
उनका अनुसार, स्वास्थ्य बीमा अन्तर्गत ३९ हजार ७ जनाले सेवा लिएका थिए भने बिमा बाहेक २३ हजार ३०३ जनाले अस्पतालबाट प्रत्यक्ष रूपमा उपचार सेवा  लिएका छन् । याे अवधिमा देशका ४१ जिल्लाका नागरिकले उपचार सेवा लिएरकाे अस्पतालकाे रेकर्डमा देखिन्छ ।


झण्डै दुई करोड रुपैयाँ बराबरको औषधोपचार सेवा बीमा प्रणालीमार्फत प्रदान गरिएको उनले चियाेचर्चाे दैनिकलाई जानकारी दिए ।
दीर्घ राेगीहरूले स्वास्थ  बीमा अन्तर्गत प्राप्त गर्ने  औषधि हरेक महिना फरकफरक कम्पनीकाे प्राप्त हुने  गरेकाले सेवाग्राहीहरूमा केही असन्तुष्टि रहेको  भएपनि , विशेषज्ञ डाक्टरहरूद्वारा अस्पतालले प्रभावकारी सेवा दिइरहेको सेवाग्राहीले बताएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले गत आर्थिक वर्षमा १ हजार १२४ महिलाले सुरक्षित मातृत्व सेवा लिएको जानकारी दिए।


तीमध्ये ७९५ जनाको सामान्य प्रसूति भएको थियो भने ३२७ जनाको शल्यक्रियामार्फत प्रसूति गरिएको थियो। दुई जना महिलाको प्रसूति भने भ्याकुम/फोर्सेप प्रविधिबाट गरिएको उनले बताए।
उनका अनुसार  अस्पतालमा दक्ष प्रसूतिकर्मीबाट ५ सय ४२ र दक्ष स्वास्थ्यकर्मीबाट ५ सय ८२ जनाले सेवा लिएका छन् ।
उनी भन्छन्, “अस्पतालमा सुरक्षित मातृत्वका साथै गर्भपतन सेवा पनि प्रभावकारी रूपमा प्रदान भइरहेको छ।” अस्पतालमा १९५ जनाले मेडिकल र ६७ जनाले सर्जिकल गर्भपतन सेवा लिएको उनले जानकारी दिए।
उनले मानसिक स्वास्थ्य सेवा पनि पछिल्लो समय लोकप्रिय बन्दै गएको बताए। “गत वर्ष मात्र मानसिक रोगसम्बन्धी उपचार सेवा लिनेको संख्या १ हजार ५३९ पुगेको छ,” उनले भने।
त्यस्तै, ल्याब सेवा लिनेकाे उल्लेख्य रूपमा वृद्धि भएको छ। अस्पतालका अनुसार १४ हजार १८० जनाले ल्याब सेवा लिएका छन्, जसमा १ हजार ४६९ जनाले थाइराइड परीक्षण र ७८४ जनाले HB1Ac परीक्षण (तीन महिनाअघि रगतमा भएको चिनीको मात्रा) जाँच  गराएका छन्।
अस्पतालका अनुसार, सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क दिने खोप सेवा अन्तर्गत २ हजार २८७ जनाले सेवा लिएका छन्। तीमध्ये २७६ बालबालिकाले पूर्ण खोप प्राप्त गरेको प्रशासन प्रमुख कर्णले बताए।
“कुकुर र अन्य जनावरले टोकेपछि लगाइने एन्टी–रेबिज भ्याक्सिन १ हजार २ सय ५२ जनालाई लगाइएका छन।”कर्णले भने।
त्यस्तै, भिडियो एक्सरे सेवा ३ हजार ९८५ जनाले तथा सामान्य एक्सरे सेवा २ हजार ५५१ जनाले लिएका छन्। ECG सेवा १ हजार १४६ जनाले प्रयोग गरेका छन्।
अस्पतालबाट ३२ जना सामान्य क्षयरोगी तथा १४ जना बहु औषधि प्रतिरोधी क्षयरोगीको पहिचान गरी उपचार गरिएको उनले जानकारी दिए। त्यस्तै, चार जना कुष्ठरोगीले नियमित औषधि सेवन गरिरहेका छन्।
“गत वर्ष इमर्जेन्सी सेवा लिनेको संख्या ६३७ पुगेको छ,” उनले थपे, “त्यस्तै परिवार नियोजन सेवा लिनेको संख्या ४८३ रहेको छ।”
डा. चौधरीले हाल अस्पतालमा विशेषज्ञ डाक्टरहरूसहित ६० जना स्वास्थ्यकर्मी कार्यरत रहेको जानकारी दिए। तीमध्ये ११ जना आन्तरिक आम्दानीबाट करार र ज्यालादारी सेवामा कार्यरत छन्।
विशेषज्ञ सेवाको बारेमा बताउदै  उनले , “म आफैं मानसिक रोग हेर्छु, डा. राम विश्वास राय स्त्रीरोग तथा प्रसूति हेर्नुहुन्छ भने डा. अभिनेश झा इन्टरनल मेडिसिन सेवा दिनुहुन्छ। साथै अन्य ६ जना मेडिकल अधिकृतहरूले पनि नियमित सेवा दिइरहनुभएको छ।”
चौधरीले भदौ महिनाभित्रै अस्पतालमा ‘कल्चर टेस्ट’ र ‘इको सेवा’ सुरु गरिने बताए। साथै, चालू आर्थिक वर्षभित्रै हिंसा पीडित उद्धार र उपचार सेवा (OCMC) सुरु गर्ने र पोस्टमार्टम सेवासमेत सञ्चालनमा ल्याइने  जानकारी दिए।


“हामीले २४ घण्टा खुल्ने फार्मेसी सेवा र अनलाइन बिरामी दर्ता सेवा पनि सुरु गरिसकेका छौं,” उनले भने ।
अस्पताल प्रशासनका अनुसार गत वर्ष उपचार हुन नसकेका ३ हजार ७४ बिरामीलाई अन्यत्र रेफर गरिएको छ। तीमध्ये धेरैजसोले स्वास्थ्य  बीमा सेवा मार्फत काठमाडौँ, भरतपुर र वीरगञ्जमा उपचार सेवा लिएका छन्।
लालबन्दी नगर अस्पतालले छोटो समयमै सेवाको स्तर सेवा प्रवाह र पहुँचमा उल्लेखनीय सुधार गर्दै नागरिकको विश्वास जितेको छ। सरकारी लगानी, कुशल व्यवस्थापन र नागरिक  मैत्री ढंगले सञ्चालन गरिएकाले  अस्पताल सर्लाही जिल्लामात्र नभई , मुलुककै एक नमूना सामुदायिक स्वास्थ्य केन्द्रको रूपमा स्थापित हुदै गएको  देखिन्छ।