![]()
खड्क सुनार /मुगु,
भदौ -४, मुगुको छायानाथ रारा नगरपालिका १४ बाम गाउँकी माघि बुढा ।
उमेरले ३० बर्ष पुगिन । १७ वर्षको उमेरमा बिवाह गर्नु भएका उनको अहिले दुई छोरा र दुई छोरी गरी ४ वटा बच्चाकी आमा भई सकिन् ।
![]()
बिगतका वर्षहरुमा ग्रामिण क्षेत्रहरुमा छोरीलाई पढ्न लेख्न गर्नु हुन्न भन्ने नराम्रो शिक्षाले उहाँको पढ्ने सपना अधुरै भयो । एकातिर सानै उमेरमा विहे गर्दा अहिले उनलाई विभिन्न प्रकारका शारीरिक समस्या झेल्नु परेको छ ।
उनी मात्रै होईनन् किशोरावस्थामै आमा बन्ने किशोरी मुगुमा थुप्रै छन् । १६ वर्षको उमेरमा विवाह गरेकी छायाँनाथ रारा नगरपालिका वडा नं १४ कि जसमा बढुवाल तीन वटा बच्चाकी आमा छिन् । दशक अघि बालविवाहको चरम रुप देखिने मुगुमा यो संख्या बर्तमान अवस्थामा पनि उस्तै छ ।

आधुनिकीकरणको नाममा सामाजिक सञ्जालको दुरुपयोगका कारण बालविवाह बढ्दै गएको छ भने एकातिर घरमै आफू खुसी विवाह गर्नाले यो समस्या झनै बढ्दो छ ।
सानै उमेरमा विवाह गर्दा विभिन्न प्रकारका रोग संक्रमणले बेला बेला च्याप्ने गरेको उनी बताउँछिन् । ´सानै उमेरमा विवाह भयो, अहिले त्यसैको सजाय भोग्दैछु,’ उनी भन्छिन् ।
उनी १६ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी थिइन् । जसमा अहिले १९ वर्षकी भइन् । उनी सँग अहिले तीन वटा बच्चालाई जन्म दिएकी छन् । उनी भन्छिन् `त्यतिबेला अल्लारे कच्चा दिमाग थियो, भागेर बिहे गरेँ । अहिले उमेर बढ्दै जाँदा थाहा हुँदैछ कति ठूलो गल्ती भयो ।´ सानै उमेरमा गरेको विवाहले सजाय भोग्नुपरेको उनी बताउँ छिन् ।

उमेर नपुग्दै विवाह गरेर गरेको गल्ती, अहिले त्यसैकै सजाय भोग्दैछिन् अहिले उनी । तल्लो पेट दुख्ने, हातघुडा दुख्ने, झमझमाउने, सेतो पानी बग्ने र हिड्दा पेट चस्किने । उनले भोगिरहेको समस्या हुन् यी ।
उनी भन्छिन, `त्यतिबेला बुवाआमाले गाली गर्नु भयो भन्दै विवाह गरे अहिले पछुतो लाग्छ । बुवाआमाले भनेको मानेको भए आज मैले यति धेरै समस्या झेल्नु पर्ने थिएन ।´
बालविवाह गरेकै कारण उनले बालअधिकार, शिक्षा र भविष्यका सपना सबै गुमाइन् । माथि उल्लेखित प्रतिनीधिमुलक पात्रका कथा केवल उनीहरुको पीडा होइन ।
यो कर्णालीका किशोरीहरूको प्रतिनिधित्व हो । जसको जीवनमा बालविवाहले पीडामाथी पीडा थुपारिएको छ । बालविवाह गरेकाहरुले पीडादायी स्वास्थ्य समस्या झेल्नु त परेकै छ । कयौँले ज्यान समेत गुमाए ।
छायाँनाथ रारा नगरपालिका वडा नं १४ नगरपालिकाकै ठुलो वडाले हेरिन्छ । वडा नं १४ का वडा अध्यक्ष जुन बहादुर खड्काका अनुसार बिगत ३ वर्षको तथ्यांक लाई हेर्दा सोही वडामा मात्र ६२ जनाले बालविवाह गरेको उल्लेख गरिएको छ । बाल विवाह न्युनीकरण गर्नको लागि वडा कार्यालयमा अनिवार्य रुपमा वडा सिफारिस बिना विवाह गर्न नपाउने रणनिति बनाएको वडा अध्यक्ष खड्काको भनाई छ ।

लामो समय देखि कर्णालीका जिल्लाहरुमा कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) नामक संस्थाले युवा, महिला, बालबालिकालाई लक्षित गर्दै समुदाय र विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, पाठेघर (आङ्ग) खस्ने समस्या, बालविवाह, छाउपडी प्रथाका बारेमा सचेतना दिन विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको छ।
बालविवाह, छाउपडी प्रथाको भुमरीबाट बालबालिका, महिला र विशेष गरि युवा युवतीहरुलाई बाहिर निकाली उनीहरुको स्वास्थ्य, शिक्षा र वानी व्यवहारमा परिवर्तन ल्याइ देश तथा समाजका लागि सबल, सक्षम र स्वस्थ नागरिक बनाउनु यो अभियानको लक्ष्य तथा उद्देश्य रहेको सिडिएस–पार्कका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताए।









