सर्लाही, साउन- २४, सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरकी एक किशोरीको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको छ।
स्थानीय बिकाउ बैठाको छोरी अन्दाजी १६ वर्षीया रंगीला कुमारी बैठा शनिवार साँझ डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गडहियाका निरीक्षक उज्ज्वल कार्कीले जानकारी दिए।


प्रहरीका अनुसार रंगीला घाँस काट्न गएकी थिइन्। घाँस बोकेर घर फर्कने क्रममा मिर्जापुरस्थित पुरानो मनुसमारा खोला तर्दै गर्दा अचानक खुट्टा चिप्ली उनको टाउको जलकुन्भिमा झारमा अड्किँदा उनको घटनास्थलमै मृत्यु भएको हाे ।


साँझ ५:३० बजेतिर घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय गडहियाका निरीक्षक उज्ज्वल कार्की नेतृत्वकाे टोलीले आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया पूरा गरि मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।