![]()
सर्लाही, साउन —२३, जिल्लाको ईश्वरपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गको दोस्रो लच्का नजिक शुक्रवार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। जनकपुरबाट मलंगवातर्फ जाँदै गरेको ग १ ख ९४९४ नम्बरको बस साँझ पौने ६ बजे अनियन्त्रित भई सडकबाट पल्टिएर दुर्घटना भएको हो।
![]()
प्रहरी चौकी फुलजोरका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई मोडल अस्पताल लालबन्दी, सर्लाही लाइफलाइन हेल्थ केयर नवलपुर, शुभस्वस्तिक अस्पताल बर्दिबास, तथा रिया पोलिक्लिनिक गोदारमा उपचार गरिएको छ। सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका धनुषाको हंशपुर नपा–२ का २८ वर्षीय उदित साह, सर्लाही कबिलासी नपा–८ का ६८ वर्षीय राम पुकार मुखिया, महोत्तरी बर्दिबास नपा–७ की ३९ वर्षीया कमला कुमारी महतो, र सर्लाही लालबन्दी नपा–५ की २४ वर्षीया रेनुका गौतमकाे लालबन्दी स्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।उनीहरूलाई शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ।

यसैगरी, सर्लाही हरीपुर नपा–९ की ४५ वर्षीया रीता चौधरीलाई सर्लाही लाइफलाइन हेल्थ केयरमा, महोत्तरी बर्दिबास नपा–१ की ४ वर्षीया श्रीषा पोख्रेललाई शुभस्वस्तिक अस्पताल बर्दिबासमा, र बसका सहचालक धनुषा धनुषाधाम नपा–८ का ४० वर्षीय विजय यादवलाई रिया पोलिक्लिनिक गोदारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










