बलरा, साउन- २२ – सर्लाहीको बलरा नगरपालिका–१, छन्की टोलमा मदिरा सेवनकाे विषयमा उत्पन्न विवादले हिंसात्मक रूप लिएकाे छ । घटनामा भारतीय नागरिककाे चक्कु प्रहारबाट तीन जना नेपाली युवक घाइते भएका छन्।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतीय नागरिकको चक्कु प्रहारबाट बलरा नगरपालिका–१ का २५ वर्षीय धर्मवीर सहनी १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल घाइते भएका हुन्।
घाइते तीनै जनाको बलरास्थित धुलिखेल अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ। उनीहरूको अवस्था हाल खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए।


प्रहरीका अनुसार चक्कु प्रहारमा संलग्न भारतीय मूलका अमन सिंह, विकास सिंह, अटल राय र अवशेख सिंहलगायत व्यक्ति घटनापछि भारती तर्फ फरार भएका छन्। प्रत्यक्षदर्शीहरूले उनीहरू सीमापारि भागेको पुष्टि गरेका छन्।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गडहिया र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षकहरू सहितको टोली परिचालन गरिएको थियो। तर सीमा नजिक भएकाले आरोपितहरू तत्काल फरार हुन सफल भएको प्रहरीले जनाएको छ।


भारतको बिहार राज्यमा मदिरा सेवन र बिक्रीमा कानुनी रूपमा प्रतिबन्ध लगाइएको छ। भारतमा मदिरा सेवन गर्न नपाइने भएपछि सीमावर्ती क्षेत्रका भारतीय नागरिकहरू नेपाली भूभागमा मदिरा सेवन गर्न आउने गर्छन् ,जसले गर्दा यस्ता घटनाहरू बारम्बार हुने गरेको सीमावर्ती क्षेत्र नगरिकहरूकाे गुनासो छ । यस्ता घट्ना दाेहाेरीन नदिन सीमावर्ती क्षेत्रमा हुने मदिराको काराेबामा राेक लगाइनु पर्ने स्थानीय नागरिकले बताउँदै आएका छन् ।
मदिराको काराेबारले सिमित व्यक्तिले आर्थिक लाभ लिएर पनि समाजमा भने,यसले नकारात्मक प्रभाव परेको उनीहरू बताउछन् ।