सर्लाही, साउन- २१, भरत ताल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा बागमती नगरपालिका प्रमुख भरत थापासहित तीन जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ।
बुधवार विशेष अदालतको इजलासले मेयर थापा, इन्जिनियर विमलकुमार पोखरेल र ठेकेदार सागर पौडेलले भरत ताल (माछा पाेखरी) निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गरेको हो।


अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको संयुक्त इजलासले उनीहरूले ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बराबरको नदीजन्य सामग्रीको हानि नोक्सानी गराएको ठहर गरेको छ।
उनीहरूलाई कति सजाय दिने भन्ने टुंगो साउन २९ गते हुने सुनुवाइपछि लाग्नेछ।


यसै मुद्दामा उपप्रमुख लीलाकुमारी मोक्तान, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी भने निर्दोष ठहर गर्दै अदालतले सफाइ दिएको छ।
यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ सालको जेठ २९ गते विशेष अदालतमा दायर गरेको थियो।


यता मेयर थापाविरुद्ध अर्को मुद्दामा पनि अदालतले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गरेको छ। अदालतका उनले तीन करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरेकाे ठहर गरेको छ । अदालतले सोही रकम बराबरको जरिवाना तोकिएको छ भने सम्पत्ति जफत गरिने भएको छ।
यो मुद्दा अख्तियारले २०८० सालको चैत २७ गते दायर गरेको थियो। यस प्रकरणमा अदालतले थापालाई एक वर्षको कैद सजाय पनि सुनाएको छ।