
सर्लाही,साउन – २१, जिल्लाको हरिपूर्वा नगरपालिका–९ स्थित मिर्चैयामा टायरगाढासँग ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु गएको छ।

मंगलवार राति भएको दुर्घटनामा हरिपूर्वा नगरपालिका–९ का २१ वर्षीय अशोक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उनी ज ५ प २२०८ नम्बरको मोटरसाइकलमा सवार थिए। विपरीत दिशाबाट आइरहेको टायरगाढासँग मिर्चैयामा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए र उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

दुर्घटनापछि आक्राेशित स्थानीय बासिन्दाले आज बिहान मिर्चैया चोकमा टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरूले सडक दुर्घटनामा लापरवाही भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंवामा राखिएको छ।










