
सर्लाही,साउन -२०, रक्षाबन्धन र हरितालिका तीजजस्ता महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा सर्लाहीका विभिन्न बजारहरूमा उपभोक्ता ठगीमा पर्ने क्रम बढ्दो छ ।
बजार अनुगमन नहुँदा व्यापारीले म्याद गुज्रिएका, गुणस्तरहीन तथा अस्वास्थ्यकर खाद्य सामग्री खुला रूपमा बिक्री गरिरहेका हुन।

बजार अनुगमन नहुँदा व्यापारीहरूले वस्तुको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा खाद्य सामग्री बिक्री गर्ने गरेको बरहथवा–९ का स्थानीय विजय महतोको गुनासो छ।
“रक्षाबन्धनमा प्रयोग हुने अधिकांश मिठाइँ म्याद सकिएको हुन्छ र कृत्रिम रङ मिसाएर आकर्षक बनाइको हुन्छ, बजार अनुगमन नहुँदा हामीजस्ता उपभोक्ता नराम्रोसँग ठगिएका छौ । कसलाई भन्नु ? कतैबाट सुनुवाइ हुँदैन। व्यापारीले भनेको मूल्यमा किन्नुपर्छ।´

जिल्लाका मलंगवा, लालबन्दी, बरहथवा, हरिवन र बयलवासजस्ता प्रमुख व्यापारिक केन्द्रहरूमा यस वर्ष अहिलेसम्म बजार अनुगमन गरिएको छैन।
व्यापारीहरूले भारतीय ढक तराजुको प्रयोग गरी उपभोक्तालाई ठग्ने गरेको स्थानीय अम्बर बहादुर मैनालीको भनाइ छ। “भारतबाट ल्याइने ढक तराजुमा १०० ग्रामसम्म तौल कम हुन्छ ,धेरै व्यापारीले नापतौल विभागबाट प्रमाणित नभएका ढक तराजु नै प्रयोग गर्छन्, डिजिटल तराजुमासमेत मिलाएर कम तौल दिने गर्छन।´

बजार अनुगमनको जिम्मेवारी स्थानीय पालिकाको भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा उपभोक्ता कम ताैलकासाथै अस्वास्थ्यकर खाद्य वस्तु प्रयोग गर्न बाध्य भएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी बजार अनुगमन गर्न आउँदैन्न आइहाले पनझ व्यापारीहरु पसल बन्द गरेर भाग्ने गरेको स्थानीयले बताएका छन्।










