
सर्लाही, साउन- १५, मधेश प्रदेशमा यस वर्ष वर्षा नभइ लामो खडेरी परेका कारण बसबरिया गाउँपालिकासहित जिल्लाका अधिकांश पालिका का किसानहरूले साउनको दाेस्राे साता बितिसक्दा पनि अझै पूर्णरूपमा धान राेप्न सकेका छैनन्। केही किसानले बैकल्पिक व्यवस्था गरि धान राेपेका भएपनि अझै धेरै किसान वर्षाकाे प्रतीक्षामा छन् ।
खेतीको मुख्य सिजनमा पनि वर्षा नभएपछि स्थानीय किसानहरू संकटमा परेका छन्। सिंचाइकाे चरम संकट भाेगिरहेका किसानलाई राहत पुर्याउने उद्देश्यले नेपाली कांग्रेस बसबरिया गाउँ कार्यसमितिले मनुष्मारा झाँझ सिँचाइ आयोजनाको कार्यालय, कर्मैयामा ज्ञापनपत्र बुझाउँदै सिँचाइ व्यवस्थाको माग गरेकाे छ।

´ प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको संघीय सरकारले विपद् संकटग्रस्त क्षेत्रको रूपमा घोषणा गरिसकेको अवस्थामा समेत सिँचाइको कुनै प्रभावकारी प्रवन्ध नहुनु किसानहरूप्रति गरिएको चरम बेवास्ता हाे ,´कांग्रेसले बिहिवार बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ।
बसबरिया गाउँपालिकाका सबै वडाहरूमा रोपाइ नहुँदा खेत बाँझिएको र रोपिएको खेतमा समेत पानीको अभावले धान सुक्ने अवस्था आएको ज्ञापनपत्रमा उल्लेख छ ।
´मनुष्मारा नदी यस क्षेत्रको प्रमुख सिँचाइ स्रोत हो, तर पछिल्ला केही वर्षदेखि नदीको मुहानमा भएको अतिक्रमण, अवैध बोल्डर तथा नाला मिसावटका कारण पानीको बहाव घटेको छ। यसै कारण किसानहरू बोरिङमा निर्भर बन्न थालेका छन्। तर हालको संकटमा बोरिङले समेत आवश्यक सिँचाइ पूरा गर्न सकेको छैन।

मनुष्मारा सिँचाइ आयोजना प्रमुख रामदुलारी शरण भगतलाई ज्ञापनपत्र बुझाउदै कांग्रेस नेता तथा किसानहरूले उत्पादनको मुख्य सिजनमा पानीको अभावका कारण आफूहरूमा निराशन छाएको, राज्यबाट कुनै राहत नपाएको गुनासो गरेका छन्।
ज्ञापनपत्रमार्फत किसानको खेत-खेतमा पानी पुर्याउन, पुराना कुलो र बाँधको संरक्षण तथा पुनःसंरचना गर्न, बागमती सिँचाइ आयोजनाबाट हुने पानीको सहज पहुँच सुनिश्चित गर्न, र डिप बोरिङको व्यवस्था गर्नेजस्ता तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न जोडदार माग गरेका छन् ।
मनुष्मारा नदीको मुहान संरक्षण, वैज्ञानिक उत्खनन, नहर व्यवस्थापनमा सुधार, गत वर्षका खर्चको विवरण सार्वजनिक गर्ने, सेवा सुविधाको जानकारी गराउने र कर्मचारीलाई फिल्डमा सक्रिय रूपमा परिचालन गर्ने जस्ता विषयहरू पनि ज्ञापनपत्रमा समेटिएको छ।

नेपाली कांग्रेस बसबरियाले ज्ञापनपत्रको बोधार्थ जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र ईलाका प्रहरी कार्यालयलाई समेत पठाएको छ।
ज्ञापन बुझाउँदै कांग्रेस सभापति लालबाबु महतोले मागहरूकाे तत्काल सम्बोधन नभए जनताको साथमा सशक्त आन्दोलन गर्ने चेतावनी दिदै,त्यसबाट उत्पन्न हुने परिणामको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेछ बताएका नेपाली कांग्रेसका युवा नेपाल गजेन्द्र साहले जानकारी दिए । उनका अनुसार ज्ञापनपत्र बुझ्दै आयोजना प्रमुले रामदुलारी शरण भगतले मागको सम्बन्धमा आफू सकारात्मक रहेको बताएका छन् ।

नेपाली कांग्रेस बसबरिया गाउँ समितिले यश अघि पनि साउन ९ गते विभिन्न १३ बुँदे मागहरू राख्दै बसबरिया गाउँपालिकामा पनि ध्यानाकर्षण पत्र बुझाएको थियाे । मागको अझै सम्बाेधन नगरिएको कांग्रेस नेता साहले जानकारी दिए ।









