![]()
सर्लाही, असार ३२ – सर्लाहीको कबिलासी नगरपालिका–१० पिडार चोक नजिक बुधवार बिहान भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। मृतकको को राति ८:३० बजेसम्म पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बिहान १०:३० बजेको समयमा नवलपुर–मलंगवा सडक खण्डमा मलंगवातर्फ गइरहेको प्रदेश २–०३–०१४ प १२१४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय रुपेश राय र पछाडि सवार उनकी २० वर्षीया श्रीमती पिंकी देवी राय सामान्य घाइते भएका छन्। उनीहरू दुवैको मलंगवास्थित प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।

मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।









