सर्लाही, असार -१९ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाहीमा “जनताको हस्ताक्षर” अभियान सुरु गरेको छ। पार्टीका अध्यक्ष रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा सुरु गरिएको भनिएको यो अभियानलाई हाल सर्लाहीको विभिन्न पालिकामा तीव्र रूपमा अघि बढाइएको छ।


ईश्वरपुरमा आज आयोजित कार्यक्रमबाट औपचारिक रूपमा अभियान सुरु गरिएको भए पनि सर्लाहीको बरहथवाबाट भने असार १० गतेदेखि नै अभियान थालिएको थियो। केन्द्रीयबाट यो अभियान असार ७ गतेदेखि सुरु गरिएको हो।


रास्वपा सर्लाहीका सभापति सरोज बानियाँका अनुसार यो अभियानमार्फत ५० हजार नागरिकको हस्ताक्षर संकलन गर्ने लक्ष्य राखिएको छ। “हालसम्म २० हजारभन्दा बढी नागरिकको हस्ताक्षर प्राप्त भइसकेको छ,” सभापति बानियाँले भने ।
सरकारको ज्यादती, विकास निर्माणमा देखिएको उदासीनता, तथा न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउने उद्देश्यले अभियान सुरु गरिएको उनले बताए ।


९० दिने लक्ष्यसहित देशव्यापी रूपमा सुरु गरिएको यो अभियान सर्लाहीमा भने एक महिनाभित्र सम्पन्न गर्ने योजना रहेको छ। रास्वपा ईश्वरपुरका सभापति सुवर्ण राज घिमिरेका अनुसार बरहथवा, मलंगवा लगायतका पालिकामा हस्ताक्षर संकलन कार्य सम्पन्न भइसकेको छ, भने बाँकी पालिकामा अभियान जारी रहेको छ।